९ कार्तिक २०८३, आइतबार

काठमाडौंका ३ नगरपालिकामा कांग्रेस विजयी, एमालेबाट दुई खोस्यो

  • ४ जेठ २०७९, बुधबार
Image

काठमाडौं- काठमाडौंका तीन वटा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। १० नगरपालिका र १ महानगरपालिका भएको काठमाडौंमा हालसम्म तीन वटा नगरपालिकाको नतिजा सार्वजनिक भएको छ। 

सार्वजनिक भएको मतपरिणाम अनुसार वामपन्थीहरुको लालाकिल्लाका रूपमा रहेको कीर्तिपुर नगरपालिका, तारकेश्‍वर नगरपालिका र दक्षिणकाली नगरपालिकामा कांग्रेस विजयी भएको हो। 

२०५४ सालमा नगरपालिका बनेको कीर्तिपुरमा पहिलो पटक कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मी मेयरमा निर्वाचित भएका हुन्। ९ हजार ४३ मत ल्याएका नकर्मीले एमालेका केशरत्न बज्राचार्यलाई ३५ सय ३६ अन्तरले पारित गरेका हुन्  बज्राचार्यले ५५ सय ७ मत ल्याएका छन्। त्यसैगरी उपमेयरमा शुभलक्ष्मी शाक्य उपमेयरमा निर्वाचित भएकी छन्। ८६६५ मत प्राप्त गरेकी शाक्यले एमालेकी बिन्दु महर्जनलाई पराजित गरेकी हुन्। महर्जनले ७२ सय ६ मत प्राप्त गरिन्। 

त्यसैगरी काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ। मेयरमा मोहन बस्नेतले ७ हजार २०१ मत र नेकपा (एमाले) का श्रीराम आचार्यले ५ हजार १९२ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए। बस्नेत २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको मेयरमा विजयी भए।

 यस्तै‚ उपमेयरमा कांग्रेसकी वसन्ती डङ्गोल तामाङ विजयी भएकी छिन्। उनी पनि यसअघिको निर्वाचनमा उपमेयरमा विजयी भएकी थिइन्। तामाङले ७ हजार ६२३ मत र उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी इन्दिरा न्यौपानेले ४ हजार ८३० मत प्राप्त गरेका छन्। 

तारकेश्‍वर नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा कांग्रेसका उम्मेदवारले जितेका हुन्। कांग्रेस उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार ९ सय ८८ मत ल्याएर मेयर जित्दा एमालेका रामेश्वर बोहरा ७ हजार ८ सय ८ मत ल्याएर हारे। उपमेयरमा जितेकी कांग्रेसकी सिर्जना बुर्लाकोटीले १० हजार ७ सय ८६ मत पाइन् । एमालेकी भवानी डोटेल ८ हजार ६ मत ल्याएर पराजित भइन्। यहाँ ०७४ सालको निर्वाचनमा नेकपा एमालेले मेयर र उपमेयर जितेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर