९ कार्तिक २०८३, आइतबार

प्रौढ प्रजातन्त्रको जगमा सुरु भएको लोककलम १५ औं गणतन्त्र दिवसमा १०० दिन पूरा

  • १५ जेठ २०७९, आइतबार
Image

काठमाडौं- जहानियाँ निरंकुश शासनविरुद्ध बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप प्राप्त प्रजातन्त्रको ७२ औं वर्षको अवसरमा सुरु भएको लोककलमले आफ्नो १०० दिन पूरा गरेको छ।

वि.सं. २००७ सालको आन्दोलन सफल भएर आधारभूत मानवअधिकारको बहाली गराई नेपाली जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप मनाइने प्रजातन्त्रको पावन अवसरमा लोककलमले आफ्नो श्रीगणेश गरेको थियो। 

प्रजातन्त्र प्रौढ हुँदै आफ्ना अनुभवहरुलाई खारिने र हस्तान्त्ररण गर्दै अघि बढिरहेको अवस्थामा सुरु भएको लोककलमले आफ्नो हनिमुन अवधि पूरा गरिरहँदा किशोर गणतन्त्रसँग साक्षात्कार गरिरहेको छ।  

स्थापनाको १० वर्ष नहुँदै प्रजातन्त्रको घाँटी रेटिएको थियो भने तीन दशक नेपाली नागरिकहरुले प्रजातन्त्र पुनर्स्थापनाका लागि निकै ठूलो संघर्ष र बलिदान गर्नु परेको थियो। फेरि पनि प्रजातन्त्रमाथि खतराको घण्टी बजाइरहने तत्वहरुलाई नेपाली जनताले सदाका लागि बिदा गर्दै २०६५ जेठ १५ मा मुलुक गणतन्त्रतात्मक राज्य घोषणा भयो। 

मुलुकमा गणतन्त्र घोषणासँगै मौलिक अधिकार, वाक स्वतन्त्रता, स्वाधिनता र सार्वभौमसत्ता नेपाली नागरिक हुने व्यवहारिक अवसर प्राप्त भयो। यससँगै मुलुकमा सञ्‍चार जगतले पनि फूल्ने र फक्रिने अवसर प्राप्त गरे। प्रजातन्त्रको जस्तै नियति गणतन्त्रले पनि व्यहोर्नुपर्ने अवस्था सिर्जना नभएको होइन। 

गणतन्त्रले आफ्नो यौवनावस्था पूरा नगर्दै मैमत्त सत्ताले यसको घाँटी रेट्‍ने प्रयत्‍न नगरेका पनि होइनन्। तर, जागरुक नेपालीहरुको अखण्ड एकता र सार्वभौम मुलुकप्रतिको अगाध प्रेमले त्यस्ता मैमत्ता सत्ताधारीलाई बिदा गर्दै संविधान, गणतन्त्र र संसद् जोगाउन सफल भए। यही पृष्ठभूमिमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रलाई थप बलियो बनाउन टेवा पुर्‍याउने उद्देश्यका साथ लोककलमको स्थापना भएको थियो। 

लोककलमले यस १०० दिनको अवधिमा पाठकहरुबाट पाएको अगाध मायाले लोककलम परिवार पुलकित  भएको छ तर, मात्तिएका छैनौं। दु:खमा आत्तिने र सुखमा मात्तिने आम स्वभावलाई काबुमा राख्दै जनताको अधिकार, लोकतन्त्रको संरक्षण र संस्थागतका लागि सधैं अग्रमोर्चामा रहने लोककलमले राज्यका अंगहरुसँग हातमालो गर्दै अघि बढ्ने छ।  १०० दिन पूरा गरिरहँदा थोरै जनशक्तिमा पनि उत्कृष्टता प्रदान गर्ने हाम्रो प्रयत्‍नलाई प्रिय पाठकहरुले गरेको विश्‍वासमा कुनै आघात पुग्‍न नदिने र थप जिम्मेवारीका साथ अघि बढ्ने प्रणका साथ १०० औं वर्षको यात्रामा अघि लम्किएका छौं।

प्रतिक्रिया

सम्बन्धित खवर