८ कार्तिक २०८३, शनिबार

सिसडोलको पानीमा प्रदुषणको मात्रा उच्च

  • २५ जेठ २०७९, बुधबार
Image

काठमाडौं- काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट वरपरको पानी पनि प्रदूषित भएको पाइएको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का  डा रविन्द्र ढकाल, डा टिस्टा प्रसाई जोशी, डा सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको विज्ञ टोलीले गरेको अध्ययनमा फोहोरको लिच्चडका कारण पानीसमेत प्रदूषित भएको पाइएको हो। 

टोलीले लिच्चड मिसिएर भएको प्रदूषणको अध्ययन लिच्चड मिसिनुभन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर पर गरेर ३ फरकफरक बिन्दुबाट पानीको नमुना संकलन गरेर अध्ययन गरेको हो।


सिसडोलबाट संकलित तीन वटा नमुनाको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्त मात्रामा लिच्चड मिसिएको देखिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जानकारी दिएका छन्।

‘स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदूषणको मात्रा उच्च देखिएको छ। यसबाट सो स्थानमा जल सम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको छ,’ शाहले फेसबुकमा लेखेका छन्। विज्ञ टोलीले यो अवस्थालाई सकेसम्म चाँडो नियन्त्रण गर्न जरुरी रहेको बताएको छ। 

पानी तथा लिच्चडको पूर्ण रिपोर्ट आगामी केही दिनमा आउनेछ भने नास्टको टिमले निरुपणको विधि पनि सुझाउने उनले बताएका छन्। नास्ट लगायत अन्य विज्ञसँग समन्वय गरेर तत्कालै गर्न सकिने, मध्यमकालिन र दीर्घकालिन समाधानको बारेमा छलफल र अभ्यास गरिने उनले बताए। 


प्रतिक्रिया

सम्बन्धित खवर