चितवन- बुधबार रातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुलेको छ। बुधबार राति परेको पानीले पहिरो आएपछि सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन बाटोमै अलपत्र परेका थिए। सडक साढे १ बजेदेखि सञ्चालनमा आएको हो।
नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा पानी पर्ने बित्तिकै पहिरो जाने समस्याले यात्रुहरू हरेक वर्ष सास्ती खेप्न बाध्य छन्। चितवनमा पर्ने सबै राजमार्ग सामान्य रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।
इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण बुधबार रातिदेखि सडक अवरुद्ध भएको थियो। यस्तै, इच्छाकामना–४ स्थित नाग्दीखोला र इच्छाकामना–५ स्थित कालिखोलामा बुधबार राति ११ः१५ बजेदेखि पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक र मुग्लिन–नौबिसे सडक दुईतर्फी अवरुद्ध भएको थियो।
बिहीबार मध्यान्ह १२ बजेदेखि दुवै सडक खण्डमा गाडी सञ्चालनमा आएको प्रवक्ता अधिकारीले बताए। अहिले पानी परेको छैन। पानी पर्ने बत्तिकै पहिरो जाने जोखिम रहेकाले संयमित भएर सवारी साधन चलाउन प्रहरीले आग्रह गरेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation