काठमाडौँ- अमेरिकी सरकारले नेपाललाई कोभिड-१९ विरुद्ध लड्न २२ लाख मात्रा बाल खोपको अनुदान प्रदान गर्ने भएको छ।
५ देखि ११ वर्ष सम्मका बालबालिका लक्षित यी अत्यन्त प्रभावकारी, जीवन रक्षक खोप अमेरिकी जनताको प्रदान गरिएका नेपालस्थित दूतावासले जनाएको छ।
यी खोप हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल-मात्रा खोपको १५ लाख मात्रामा थपिने छन्।
यस अनुदानले अमेरिका र नेपालबिचको ७५ वर्ष लामो कूटनीतिक सम्बन्धको सम्मान पनि गरेको छ।
नेपालको स्वास्थ्य क्षेत्रमा अमेरिकाको ऐतिहासिक सहयोगले हाम्रो साझेदारीका सशक्त परिणामहरू प्रतिविम्ब गर्ने दूतासावले जनाएको छ।
कोभिड-१९ महामारीको सुरुवातदेखि नै यसविरुद्ध लड्न, अत्यावश्यक स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न र यस महामारीका सामाजिक तथा आर्थिक प्रभावहरू–विशेषतः शिक्षा र जीविकोपार्जनमा–न्यूनीकरण गर्न नेपाललाई मद्दत गर्न अमेरिकी सरकारले नेपाल सरकारसँग प्रत्यक्ष रूपमा काम गर्दै आएको दूतावासले जनाएको छ।
बाल फाइजर खोप अभियानको तयारीस्वरूप अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडीले उक्त खोप लगाउने विषयमा ५६ जिल्लामा अग्रपङ्क्तिका स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहयोग गरेको थियो।
विश्वव्यापी रूपमा अमेरिकाले ११५ विकासोन्मुख देशहरूलाई १ अर्ब १० करोडभन्दा बढी कोभिड-१९ खोपको अनुदान प्रदान गर्ने वाचा गरेको छ।
५० करोडभन्दा बढी मात्रा उपलब्ध गराइसकेको छ। ४ अर्ब अमेरिकी डलरको योगदान गर्ने अमेरिका विश्वव्यापी खोप पहल कोभ्याक्सको सर्वाधिक ठूलो द्विपक्षीय दाता पनि हो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation