काठमाडौँ - नेकपा एमालेका उपमहासचिव एवं सांसद प्रदीप ज्ञवालीले व्यक्तिगत रिसले प्रधानन्यायाधीशलाई महाभियोग लगाएको बताए।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाअभियोग लगाएसँगै कुनै काम कारबाही अघि नबढाएपछि ज्ञवालीले अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा यस्तो बताए।
उनले महाअभियोग समितिलाई काम गर्न नदिएको भन्दै प्रश्न उठाए । ‘व्यक्तिगत रिसले प्रधानन्यायाधीशलाई महाभियोग लगाएका छौँ, समितिलाई काम गर्न नदिएर महाभियोग लगाएका छौँ, यसरी कसैको तुष आत्मसन्तुष्टि होला, तर प्रणाली भने बलियो हुन्न,’ उनले भने ।
प्रधानन्यायाधीश राणामाथिको महाअभियोगका बारेमा प्रतिनिधिसभा बैठकले छानबिन समिति बनाउन निर्देशन दिए पनि सो समितिको बैठक त परै जाओस् समितिको संयोजक पनि तोकिएको छैन ।
सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रले गत १ फागुनमा ‘अचानक’ प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाएपछि प्रतिनिधिसभा बैठकले २३ फागुनमा संसदीय छानबिन समिति बनाएको थियो । तर, प्रतिनिधिसभाले सो समितिलाई अझै पनि औपचारिक रूपमा छानबिन गर्न आदेश नदिएपछि ज्ञवालीले संसदीय समितिको बैठकमा त्यो प्रश्न उठाएका हुन् ।
पाँच महिनासम्म महाअभियोग प्रस्ताव संसद्मा अलपत्र छ । यसबारे सत्तारुढ दलले केही धारणा सार्वजनिक गरेको छैन ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation