काठमाडौं- काठमाडौंमा देखा परेको हैजाको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिनका टोली गठन गरेको छ। स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोली गठन गरिएको हो।
काठमाडौंमा पुष्टि भएको हैजाको कारण पत्ता लगाउन पनि टोलीले काम गर्ने अधिकारीले बताए। ‘हैजाको केश जहाँ पत्ता लाग्छ। त्यस वरिपरिका हैजाका लक्षण भएका अन्य बिरामी भए नभएको एकिन गर्ने काम गर्छ,’ अधिकारीले भने,’ कस्तो खानेकुरा वा खानेपानी सेवन गर्छन् जस्ता कुराहरु अनुगमन गर्ने र नुमना संकलन गर्ने काम गरिन्छ।’
काठमाडौंमा हालसम्म चार जनामा हैजा पुष्टि भएको छ। बागबजारमा हैजा पुष्टि भएका सम्बन्धित ठाउँ र परिवारमा पुगेर उक्त टोलीले खानेपानीको नमुना संकलन भइसकेको छ। ‘चारवटा केसको ट्रेस भइसकेको र बागबजार क्षेत्रको पानी परीक्षण गर्न ल्याबमा पठाएको छ। ल्याब रिपोर्ट आउन बाँकी छ,’ उनले भने।
बागबजारमा पुष्टि भएको हैजाका बिरामीले जार र धारा दुवैको पानी नउमालिकन खाने गरेको पाइएको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation