काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समिति गठनको तयारी थालेको छ। जनता समाजवादी पार्टी अलग भएर नयाँ पार्टी बनाएका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति बनाउने तयारी थालेका हुन्।
जसपाबाट अलग भएपछि लोसपा दर्ता हुँदा निर्वाचन आयोगमा ३१ सदस्यीय कार्यकारिणी समितिको सूची पठाइएको थियो। सोही समितिमार्फत पार्टी सञ्चालन भइरहेको थियो। लामो समय पार्टीमा केन्द्रीय समितिलगायत अन्य भातृ सङ्गठन नबनाएको भन्दै नेतृत्वमा दबाब परिरहेको थियो। सोही दबाबका कारण बल्ल केन्द्रीय समिति गठनको गृहकार्य सुरु भएको छ।
कार्यकारिणी सदस्य लक्ष्मण लाल कर्णका अनुसार असारभित्रै केन्द्रीय समिति घोषणा हुन्छ। विधानमा ५०१ सदस्यीय केन्द्रीय समितिको प्रावधान रहेको छ। त्यसमा हाललाई कति जनालाई राख्ने भनेर छलफल भइरहेको उनले बताए।
उनका अनुसार संविधान अनुसार पार्टीमा ३३ प्रतिशत महिला सहभागीताको कुरा गरिएकोले त्यो संख्या पुर्याउन लोसपालाई समस्या भइरहेको छ। सङ्ख्या अनुसार महिला नै नपाएको उनको गुनासो छ। उनले जति महिलाको नाम प्राप्त हुन्छ, त्यसैको आधारमा केन्द्रीय समिति सदस्यको सङ्ख्या तय गरेर अगाडि बढ्ने विषयमा पनि छलफल भइरहेको बताए।
साथै, यही असारमा महिनामै भातृ सङ्गठन पनि विस्तार हुने उनले बताए। गत फागुनमा नै पार्टीले २८ वटा भातृ सङ्गठनको नाम सार्वजनिक गरिसकेको छ। तर त्यसको समिति भने बनेको छैन। तत्कालै २८ वटै भातृ सङ्गठनको समिति निर्माण गर्न नसके पनि केहीको गठन हुने उनले बताए । हाल भातृ सङ्गठनका लागि नामावली सङ्कलन गर्ने कार्य भइरहेको छ।
केन्द्रीय समितिसँगै भातृ सङ्गठन पनि सार्वजनिक हुनसक्ने उनले बताए। लोकतान्त्रिक विद्यार्थी संघ, लोकतान्त्रिक युवा संघ, लोकतान्त्रिक प्राध्यापक संघ, लोकतान्त्रिक बुद्धिजीवी संघ, लोकतान्त्रिक शिक्षक संघलगातयतका भातृ सङ्गठनको नामावली चयन भइसकेको छ । अब समिति बनाउन मात्र बाँकी रहेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation