काठमाडौं- पर्यटनमन्त्री प्रेम आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक हासिल गर्न सफल भएको बताएका छन्। राजीनामापछि आइतबार पत्रकार सम्मेलन गर्दै आलेले आफूले पर्यटन क्षेत्रको सुधारका लागि राम्रो काम गरेको र त्यसबाट भएको प्रगति सन्तोषजनक रहेको बताएका हुन्।
उनले क्यासिनो रोयल्टी उठाउने, नारायणहिटीको अतिक्रमण रोक्ने, पशुपति धर्मशाला फिर्ता ल्याउन गरेको कामसहितलाई आफ्नो कार्यकालमा राम्रो काम गर्न भएको प्रयास भनेका छन् । आलेले आफूले एक्सन मन्त्रीको उपाधि पाएको बताए।
‘तेस्रोपटक मन्त्रीको हैसियतमा पर्यटन मन्त्रालय सम्हाल्दा मैले स्वदेश विदेशबाट आम नेपालीले एक्सन मन्त्री उपमा दिएको सुनिरहेँ,’ उनले भने। कागजमा मात्र काम देखाउने आफ्नो निशानामा परेको पनि उनको भनाइ थियो।
पिँधमा बसेका मात्र नभएर टाकुरामा बसेकाहरूमाथि पनि आफूले निगरानी बढाएको उनले बताए। उनले जनताको काम गरिरहँदा आफूले नौ महिना बितेको पत्तै नपाएको बताए ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation