९ कार्तिक २०८३, आइतबार

भाग नपाएको झोंकमा देउवाविरुद्ध संघर्ष गर्ने शेखर समूहको तयारी

  • १६ असार २०७९, बिहिबार
Image

काठमाडौं- नेपाली कांग्रेसमा भागबण्डा र गुटको राजनीति अन्त्य गर्ने घोषणासहित चुनावी मैदानमा होमिएका नेता शेखर कोइराला सभापतिमा शेरबहादुर देउवासँग पराजित भएसँगै गुटगत राजनीति सुरु गरे। महाधिवेशन ६ महिनासम्म पनि आफ्नो समूहलाई कुनै पनि ठाउँमा भाग नदिएको भन्दै फेरि सभापति देउवाविरुद्ध संघर्ष गर्ने शेखर समूहले तयारी थालेको छ। 

भागबण्डा नपाएको झोंक भए पनि विधान र सहमति–सहकार्य विपरीत  सभापति देउवा हिँडेको शेखर समूहको आरोप छ। 

विधानको कार्यान्वयन र भ्रातृ संस्थाको नेतृत्व एकलौटी चयन गरेको र आफ्नो समूहका नेताहरुलाई कुनै भाग नदिएको विषयमा शेखर समूहले आन्तरिक छलफल गर्न लागेको हो। बिहीबार शेखर कोइरालाको सचिवालयमा उक्त समूहको बैठक बस्न लागेको हो ।

पार्टीको केन्द्रीय समिति र बाहिर रहेका प्रभावशाली नेतालाई कोइरालाले छलफलका लागि बोलाएका हुन्। पार्टीको विधि, नेतृत्वका बीचको समझदारी र आफ्नो समूहको अस्तित्व स्वीकार गर्ने लक्षण सभापति देउवाले नदेखाएपछि सोच्नुपर्ने ठाउँमा पुर्‍याएको कोइराला समूहको आरोप छ। 

उनका अनुसार महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सम्पूर्ण काम पूरा भइसक्नुपर्ने विधानको किटानी व्यवस्था छ। तर ६ महिनामा सुरुवात समेत नभएपछि कोइराला समूहले विधान कार्यान्वयन नभएको विषयलाई सशक्त ढंगले उठाउने भएको छ। पदाधिकारीमा नै आफ्नै समूहबाट महामन्त्रीमा गगन थापा हुँदाहुँदै विधानको कार्यान्वयन नगरेको एकल दोष सभापति देउवामाथि शेखर समूहले लगाउँदै आएको छ।

यसबीचमा प्रधानमन्त्रीसमेत रहेका देउवाले एमसीसी र स्थानीय तहको निर्वाचनमा होमिनु परेका कारण विधान अनुसार काम हुन नसकेको भए पनि चाँडै सबै काम टुंग्याउने महामन्त्री विश्‍वप्रकाश शर्माले बताएका छन्। 

पार्टीमा १४ सदस्यीय पदाधिकारीमा कोषाध्यक्ष मनोनीत गर्न बाँकी छ भने १६८ सदस्यीय केन्द्रीय समितिमा १४७ जना सदस्यमात्र छन्। सभापति देउवाले २१ जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी नै छ। ती मनोनयनहरुमा आफूलाई भागबण्डा गर्न दबाब दिने अभियानस्वरुप शेखर समूहको बैठक बस्‍न लागेको हो। 

देउवा समूहका एक नेताका अनुसार चाँडै नेविसंघ र नेपाल तरुण दललाई पूर्णता दिने र अन्य भातृसंस्थाहरुको काम पनि अघि बढाउने गरी तयारी भइरहेको बताएका छन्। उनले सम्भवत: असारभित्रै र साउन पहिलो सातासम्म सबै कामहरु टुंग्याउने गरी तयारी भइरहेको ती नेताको दाबी छ। 

प्रतिक्रिया

सम्बन्धित खवर