काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको आर्थिक स्थिति पनि श्रीलंकाको जस्तो संकटग्रस्त हुन सक्ने देखिएको बताएका छन्। यसकारण सबैजना सतर्क हुनुपर्ने अवस्था आएको उनको भनाइ छ।
पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार आयोजना गरेको सम्पादकसँगको अन्तरक्रियामा ओलीले त्यस्तो बताएका हुन्। ओलीले यस सरकारका अर्थमन्त्रीले अनधिकृत तरिकाबाट बजेट निर्माण, कमिसनको खेलमा हतियार खरिद प्रकरण जस्ता पृष्ठभूमिले देशको अर्थतन्त्र श्रीलङ्काको भन्दा तल पुग्ने खतरा देखिएको दाबी गरे।
‘बजेट निर्माणमा अनाडी मान्छेहरू संलग्न हुने, व्यापारीका प्रतिनिधिहरू सेटिङअन्तर्गत लाभको हिसाबकिताब जोडघटाउ गर्ने जस्ता कारणले देशका अर्थतन्त्र ध्वस्त भएको उनको भनाइ छ। कर दर, अन्तशुल्क छुट दिने जस्ता विषयमा अनधिकृत मान्छे ल्याएर राष्ट्रिय बजेटलाई कमजोर र अर्थतन्त्रलाई नै ध्वस्त पर्नेगरी, अवान्छित तत्त्वहरूको हात घुसाउने काम गरेको उनले बताए।
ओलीले भने, ‘हतियार खरिद न रक्षामन्त्री वा अर्थमन्त्रीले मात्र गर्न सक्छ। न बजेटमा यत्रो बदमासी अर्थमन्त्रीले मात्र गर्न सक्छ। अर्थमन्त्री एउटैको मात्र पनि चल्दैन र अर्थमन्त्रीको पृष्ठपोषणमा, हतियार खरिद प्रकरणमा गरिएका कुराहरू, पृष्ठभूमिमा देखिएको भरथेग त्यति सहज छैन भन्ने देखाउँछ। यसको प्रभाव कम्तिमा श्रीलङ्काको पुग्ने लक्षण देखिँदैछ।’
© Lok Kalam . Designed and Developed by Goldenmud Creation