काठमाडौं- काठमाडौंका सडक बालबालिकाको मिर्गौला झिकेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पाँच जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो।
विभिन्न प्रलोभन देखाएर गिरोहको एउटा समूहले भारत लगेर मिर्गौला झिक्ने गरेको पत्रकार सम्मलेनमार्फत जानकारी दिइएको छ। पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अन्तर्गतको कसुरमा कारबाही प्रक्रिया अघि बढाइने ब्यूरोले जनाएको छ।
पक्राउ पर्नेहरुमा गुल्मी धागीथुङ–२ का ३१ वर्षीय विजय कुँवर, दैलेख तिलुखाना–६ का ३२ वर्षीय विमलबहादुर शाही, दैलेखकै चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ का २९ वर्षीय धुपेन्द्रबहादुर शाही, रामेछापका धनबहादुर रोका र झापाका आशिष तामाङ छन्।
असार १५ गते शाहीद्वय र कुँवरलाई पक्राउ गरिएको थियो भने रोका र तामाङलाई असार २८ गते पक्राउ गरिएको हो। सुरुमा शाहीद्वय र कुँवरलाई प्रहरी प्रभाग कोटेश्वरको टोलीले पक्राउ गरेर ब्यूरोलाई बुझाएको थियो। उनीहरुमाथि गरेको अनुसन्धानको क्रममा थप दुई जना पनि तस्करीमा संलग्न भएको देखिएपछि उनीहरुलाई पक्राउ गरिएका हो।
यो गिरोहले बालबालिकाहरुलाई एउटा मिर्गौला दिँदा केही फरक नपर्ने र ५ लाख रुपैयाँसम्म आम्दानी हुने प्रलोभन देखाएको पाइएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation