काठमाडौं- नेपाल प्रेस युनियनको नवौं केन्द्रीय कमिटीका लागि शनिबार मतदान हुने भएको छ।
युनियनको महाधिवेशनको उद्घाटन शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए। युनियनको शुक्रबार नै मनोनयन दर्ता गराएर पहिलो नामावली प्रकाशन गरिएको छ।
निवार्चन समितिको कार्यतालिका अनुसार शनिबार बिहान दाबीविरोध र उजुरीहरु लिएर छानबिन गर्ने कार्यतालिका छ। शनिबार बिहान १०ः३० बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरी मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ।
युनियनको नवौं केन्द्रीय कमिटीका लागि दुई वटा प्यानल बनाएर उम्मेदवारहरु चुनावी मैदानमा छन्। संस्थापनबाट अनिता बिन्दु अध्यक्ष, वरिष्ठ उपाध्यक्षमा सरोजराज अधिकारी, उपाध्यक्षमा भिष्मराज ओझालगायतको उम्मेदवारी परेको छ।
त्यसैगरी संस्थापनइतर समूहबाट अध्यक्ष शिव लम्साल छन् भने वरिष्ठ उपाध्यक्षमा प्रेम केसी चुनावी मैदानमा छन्। त्यसैगरी उपाध्यक्षमा नकुल अर्यालले उम्मेदवारी दिएका छन्। भुवन भट्टले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation