काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको डम्फूमात्रै बजाएर नबस्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।
आगामी मङ्सिर पहिलो साता आम निर्वाचनको घोषणा हुने भन्दै अध्यक्ष नेपालले अब भने गठबन्धनको डम्फूमात्रै बजाएर बस्नु उचित नभएको बताएका हुन् ।
पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धनको डम्फू बजाउने काम छोडेर पार्टीको संगठन सुदृढीकरणको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
स्थानीय तह निर्वाचनमा पार्टीलाई सुदृढ बनाउने काममा नलाग्दा सत्तारुढ अन्य दलहरूले आफूहरूलाई सहयोग नगरेको अध्यक्ष नेपालको भनाई थियो।
उनले आगामी आम निर्वाचनमा २० देखि २५ सिट ल्याउने दाबी समेत गरे। स्थानीय तह निर्वाचनमा २८ प्रतिशत उम्मेदवारी दिँदा नौ लाख २७ हजार भोट पाएको उल्लेख गर्दै अध्यक्ष नेपालले सबै ठाउँमा उम्मेदवारी दिएर आगामी आम निर्वाचनमा जाँदा समानुपातिकसहित प्रतिनिधिसभामा आफ्नो पार्टीले २० देखि २५ सिट ल्याउने दाबी गरे।
उनले भने, ‘अहिले तपाइहरूलाई थाहा छ–हामीले स्थानीय तह निर्वाचनमा भाग लियौँ। अब मङ्सिर महिनामा चुनाव आउँदैछ। सम्भवतः मङ्सिर महिनाको पहिलो हप्तामा चुनावको घोषणा हुनेछ। अब कति दिन कति हामीले गठबन्धनको डम्फू बजाएर बस्ने ? अब डम्फू बजाउने होइन । अव यो पार्टीलाई बलियो बनाउने डम्फु बजाउने। यो पार्टीलाई सुदृढ बनाउने कुरा गर्ने हो। त्यो बेला हामीले गठबन्धन भएपछि त जितिहालिन्छ। त्यसो हुनाले हामीले स्थानीय तह निर्वाचनमा मेहनत कम गर्यौँ। संगठन बनाउने कुरामा ध्यान कम दियौँ । संगठन विस्तार गर्ने कुरामा ध्यान कम दियौँ । फलस्वरूप हामीले गठबन्धन दलबाट जति सहयोग पाउनुपर्ने हो, जति महत्त्व पाउनुपर्थ्यो, त्यो पाउन सकेनौँ ।’
© Lok Kalam . Designed and Developed by Goldenmud Creation