काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता रद्द भएको विषयमा अमेरिकालाई पत्र लेख्न ढिलाढाला गर्न नहुने बताएका छन्।
पुष्पलाल मित्रता केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले आफू र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्काल पत्र पठाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको बताए।
‘मैले र प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई तुरुन्त चिठी पठाउनुस् ढिलाढाला हुने काम नहोस् भन्यौं’ नेपालले भने, ‘जनताको तहबाट पनि आवाज उठ्नुपर्छ। जनता सजक हुनुपर्छ । नेपाली राष्ट्रियता जोगाउने भनेको नेपाली जनता हुन् । जनतामा चेतना र जागरण आयो भने आवाज बुलन्द हुन्छ।’
एसपीपी सम्झौता तत्कालीन प्रधानमन्त्री केपी ओलीको समन्वयमा भएको नेपालले बताए। ‘नेपालले एसपीपी सम्झौताको पत्र पठाएको रहेछ। आर्मीले पठाउनै नहुने पत्र पठाएको रहेछ। त्यो पनि प्रधानमन्त्री केपी ओलीको स्वीकृत लिएर पठाएको रहेछ। विडम्बना भयो’ नेपालले भने, ‘त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दियौँ। दिएपछि स्वीकार गर्ने नेपाली सेनाले पनि अस्वीकार गर्ने कुरा भयो।’
© Lok Kalam . Designed and Developed by Goldenmud Creation