काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले कारागारहरूलाई खुला स्थानमा स्थानान्तरण गरिने बताएका छन्। बिहीबार राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७९ माथि छलफलका क्रममा उठेको प्रश्नहरूको जवाफ दिँदै मन्त्री खाणले यस्तो बताएका हुन् ।
उनले अधिकांश कारागारहरू शहरको मध्य भागमा रहेको भन्दै ती कारागारहरूलाई ठूलो भू–भागमा स्थानान्तरण गर्ने सरकारको योजना रहेको सुनाए ।
केही ठाउँमा नयाँ कारागार निर्माण गर्ने सरकारको योजना रहेको उनको भनाइ थियो। उनले कारागारको क्षेत्रफल ठूलो बनाएर कैदीबन्दीहरूलाई कृषि उत्पादनको काममा लगाउन सकियोस् भन्ने सरकारको धारणा रहेको उल्लेख गरे।
उनले भने, ‘बन्दी गृहलाई अब सुधार गृह बनाउनु जरुरी छ। त्यसका लागि हामी प्रयत्नशील छौँ ।’ शहरको मध्यभागमा रहेका बन्दीगृहहरूलाई बजारको किनारमा सार्ने जनताको माग पनि रहेको गृहमन्त्री खाणको भनाइ थियो।
‘उपयुक्त ठाउँमा जमिन खोजेर बजेटको व्यवस्थापन गरेर नयाँ बन्दीगृह बनाउने र त्यसलाई सुधारगृहको रुपमा परिणत गरेर बन्दीहरूलाई सुविधाजनक जीवन जिउने वातावरण बनाउने हामी कार्ययोजनामा छौँ’, उनले भने ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation