काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
मंगलबार भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। उनले सरकारले ल्याएको बजेट कृषि उत्पादनमा केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह गरे।
मन्त्री शर्माले कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको दाबी गरे। उनले भको श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा मात्रै नेपाललाई समउन्नत बनाउन सकिने बताए।
उनले सरकारले किसानको घर खेतमा गएर लगानी गर्ने तथा बजेटमा किसानलाई पेन्सनको व्यवस्थासमेत गरेको दाबी गरे। मन्त्री शर्माले भूमिहीनलाई जमिन दिएर, पुँजी नहुनेहरूका लागि पुँजी उपलब्ध गराएर र औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नुपर्ने आवश्यकता रहेको बताए।
उनले कृषिमा जोडे मात्रै मुलुकको अर्थतन्त्र सवलीकरण हुनसक्ने बताए। मन्त्री शर्माले सरकारसँग सबैकुरा भएकाले उत्पादनसँग जोडिनुपर्ने बताए। उनले नेपालले तरकारी निर्यात गर्नुपर्ने ठाउँमा आयात गरेको भन्दै किसान संघहरू उत्पादनमा जोड दिनुपर्ने आग्रह गरे।
उत्पादनलाई जोड दिएर तरकारी उत्पादन गरे नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर बन्नसक्ने उनले बताए। उनले आयात गरेर खानुपर्ने वस्तुको अन्त्य गर्न आवश्यक रहेको बताए ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation