८ कार्तिक २०८३, शनिबार

तीन दिने भ्रमणका लागि चीन जाँदै परराष्ट्रमन्त्री खड्का

  • २१ साउन २०७९, शनिबार
Image

काठमाडौं- परराष्ट्रमन्त्री नारायण खड्काले तीन दिने चीनको भ्रमण गर्ने भएका छन्। चिनियाँ विदेश मन्त्रालयले परराष्ट्रमन्त्री खड्काको भ्रमणबारे पुष्टि गरेको हो। 

बेइजिङमा शुक्रबार पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन् यिङले अगस्ट ८ देखि १० (साउन २३ देखि २५)सम्म नेपालका परराष्ट्रमन्त्री खड्काले चीनको भ्रमण गर्न लागेको पुष्टि गरेकी हुन्।

पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले नेपाल र चीन असल छिमेकी तथा साझेदार भएको बताउँदै नेपाली परराष्ट्रमन्त्री खड्काको यो भ्रमण चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको गत मार्चमा भएको नेपाल भ्रमणको आदानप्रदान भएको बताइन्।

प्रवक्ता ह्वाले भनिन्, 'एक वर्षभित्रमा दुवै देशबाट मन्त्रीस्तरीय आउजाउले नेपाल र चीनबीचको विश्वासलाई प्रगाढ बनाएको छ। देशका विदेशमन्त्रीहरूले एक वर्षभन्दा कम अवधिमा भ्रमण आदानप्रदान गरेका छन्, जसले चीन र नेपालबीचको आपसी विश्वास र मित्रतालाई झल्काउँछ।'

प्रवक्ता ह्वाका अनुसार चिनियाँ पक्षले यस भ्रमणबाट नेपाली पक्षसँग रणनीतिक सम्पर्कलाई थप सुदृढ गर्ने, एकअर्कालाई दृढताका साथ सहयोग गर्न र विकास तथा समृद्धिका लागि दीर्घकालीन रणनीतिक साझेदारीलाई अगाडि बढाउन सघाउने अपेक्षा गरेको छ।

चिनियाँ परराष्ट्रमन्त्री वाङले नेपाल र दक्षिण कोरियाली विदेशमन्त्रीलाई एकैसाथ शानतोङ प्रान्तको छिङ्ताओमा स्वागत गर्ने कार्यक्रम छ। 

यसअघि चिनियाँ विदेशमन्त्री वाङ यी र त्यसपछि चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाव प्रमुख लिउ जियान्चाओले नेपाल भ्रमण गरेका थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर