काठमाडौं- सत्तारुढ गठबन्धनभित्र २०७४ र २०७९ को स्थानीय चुनावको परिणामलाई आधार बनाएर आगामी प्रतिनिधिसभा र प्रदेश सभाको चुनावको सीट बाँडफाँट गर्ने विषयमा छलफल सुरु भएको छ।
सीट बाँडफाँटको मोडालिटी तयार गर्न बनेको कार्यदलको बालुवाटारमा बसेको बैठकमा २०७४ सालको प्रतिनिधिसभा र २०७९ सालको स्थानीय तह चुनावलाई आधार मानेर मापदण्ड तयार गर्ने विषयमा छलफल भएको हो।
कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले दुवै चुनावी परिणामलाई आधार मानेर सिट बाँडफाँटको लागि छलफल भइरहेको बताए।
'२०७४ को निर्वाचन र २०७९ को स्थानीय तह निर्वाचनको परिणामलाई आधार मानेर सिट बाँडफाँट गर्ने छलफल भइरहेको छ,' कार्कीले भने 'हामी कार्यदलबाटै सहमति गरेर टुंगो लगाउने प्रयासमा छौँ। अर्को बैठक बुधबार ४ बजे बस्नेछ ।'
कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रहेको कार्यदलमा हालसम्म ३ वटा मात्रै बैठक भएको छ। गठबन्धनमा कांग्रेसका तीन, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता सामाजवादी र राजमोका २-२ जना सदस्य रहेका छन्। कार्यदललाई साउन मसान्तभित्र मोडालिटी निर्माण गर्न समय तोकिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation