काठमाडौं- प्रतिनिधि सभा तथा प्रदेश सभाको सिट बाँडफाँटका लागि बनेको कार्यदल सहमति जुटाउन असफल भएको छ। साउन २० गते गठन भएको कार्यदलले एक महिनासम्म पनि सिट बाँडफाँट गर्न असफल भएको हो।
बुधबार अन्तिम बैठक बसि सहमति भएजति विषयमा शीर्ष नेतालाई प्रतिवेदन बुझाउने तयारी थियो। तर, बुधबार पनि सहमति जुट्न सकेन।
बुधबार पनि कुनै सहमति नजुटेपछि अब शीर्ष नेताहरूलाई कार्यदलमा भएको छलफल र उठेका विषयबारे कांग्रेसले ब्रिफिङ गरेका छन्।
‘सिट बाँडफाँटका विषयमा छलफल भयो, निर्वाचन क्षेत्र अनुसार कुरा गर्दा कतिपय क्षेत्रमा निर्विवाद भए पनि धेरै क्षेत्रमा सबैको दाबी रह्यो’ कार्यदलका एक सदस्यले भने, ‘बिहीबार बिहान ९ बजे कार्यदल बसेर अन्तिम होमवर्क गर्छौं र सकभर मिलाउँछौँ। तर त्यसमा पनि सहमति नजुटे दिउँसो १ बजे शीर्ष नेताहरूको बैठकमा जानकारी दिन्छौं।’
उनले केही सिटमा दलहरूबीच कुरा नमिलेको र कांग्रेसले कहिले दाबी छोड्ने तथा कहिले अडान गरेका कारण समस्या भएको बताए।
कुन कुन निर्वाचन क्षेत्रमा सबैको दाबी भएको उनले खुलाएनन्। जसपाका नेता तथा कार्यदल सदस्य रामसहाय प्रसाद यादवले १ सय ६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेस १०० बाट नझरेको बताए।
कांग्रेस १००, माओवादी ६०, नेकपा एकीकृत समाजवादी ४०, जसपा ३२ र राष्ट्रिय जनमोर्चा २ सिटको दाबी मै रहेको उनले बताए।
‘निर्वाचन क्षेत्र सिमित गरेर भोलि अझै सिट मिलाउँछौँ, बढी दाबीबाट तल झर्ने कोसिस हुन्छ’ यादवले भने, ‘नभए जति मिलेको छ त्यो स्वीकार गर्ने र बाँकी मिलाउन शीर्ष नेताहरूलाई बताउने कुरा भएको छ।’
मंगलबार मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका थिए।
उता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने कांग्रेस ८० सिटको वरिपरि आउनसक्ने र माओवादीले ६० सिट लिने दाबी गरेका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation