काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनका लागि पार्टीको घोषणापत्रमा सस्तो लोकप्रियताको भ्रम नहुने बताएका छन्। ‘म र मेरा लागि तर समग्रमा देशका लागि’ भन्ने युवा भावनाको लहरलाई घोषणापत्रको अन्तर्वस्तुमा समाहित गरिने उनले जानकारी गराए।
१०९ औं वीपी जयन्तीको अवसरमा सुन्दरीजलमा बोल्ने क्रममा उनले भने, ‘जिम्मेवार सोच एवं भरोसा गर्न सकिने संकल्प र अठोटको प्रधानता सहितको घोषणापत्र बन्छ।’ घेरो मात्र बाँकी रहेको टोपी लगाएका नागरिक देखी फाटेको धोती लगाएका नागरिकसम्मको भावना घोषणापत्रले समेटिने उनले प्रष्टाए।
बदलिएको समयको अपेक्षालाई सम्बोधन गर्ने गरि चुनावी घोषणापत्र सार्वजनिक गरिने महामन्त्री शर्माले बताए।कांग्रेसको घोषणापत्रमा सस्तो लोकप्रियताको भ्रम नहुने पार्टीको चुनावी घोषणापत्र तयारी समितिका संयोजक समेत रहेका शर्माले जानकारी गराए।
शिक्षाबाट वञ्चित, विद्यार्थीको ड्रप आउट, उच्च शिक्षा लिएर पनि बेरोजगार बस्नुपर्ने बाध्यता लगायतका समस्या समाधान गर्ने विकल्प सहितको घोषणापत्र सार्वजनिक गरिने शर्माले बताए।महामन्त्रीको उम्मेदवारी घोषणा गरेकै स्थानबाट शर्माले चुनावी घोषणापत्रमा समावेश गरिने विषयबारे भने, ‘यो अवधिमा हाम्रा कमजोरीको पहिचान र बदलिएको समयको अपेक्षाको जगमा हामी व्यावहारिक घोषणापत्र निर्माण गर्नेछौं।’
शासन प्रणाली सहि भएर पनि नागरिकलाई व्यापक विश्वासमा लिन भइरहेका कमजोरीको पहिचान घोषणापत्रमा गरिने शर्माको जिकिर छ।५ वर्षको सरकारको कुरा नभई १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्ने शर्माको तर्क थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation