काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक बिनानिष्कर्ष टुंगिएको छ। सत्ता गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँट अझै टुंग्याउन सकेको छैन।
सोमबार बिहान ९ बजेदेखि सुरु भएको बैठक ८ घण्टा ४० मिनेट बसेको थियो। सिट बाँडफाँटमा गठबन्धनका दलहरू लचिलो नहुँदा अझै सहमति जुट्न नसकेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँट सम्पन्न गर्नका लागि सबै दलहरू लचिलो हुनुको विकल्प नरहेको बताएका छन्।
उनले सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफल निर्णयको नजिक रहेको बताए। मन्त्री कार्कीले आजको बैठकमा सकारात्मक छलफल भएपनि सहमति भने हुन नसकेको जानकारी दिए।
सत्तारूढ गठबन्धनमा रहेका दलहरूले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तालमेलको सहमति गरेका छन् । तर, उनीहरूले सिट बाँडफाँट भने गर्न सकेको छैन।
साउन २० गते सिट बाँडफाँटको लागि कार्यदल बनाएर काम थालेको गठबन्धनले चुनावी तालमेलको गाँठो अझै फुकाउन सकेको छैन।
बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका शीर्ष नेताहरू बैठकमा सहभागी भएका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation