काठमाडौं- नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो।
गठबन्धनमा सिट बाँडफाँटको छलफल चलिरहे पनि समानुपातिकतर्फ बन्दसूची बुझाउने म्याद नजिकिँदा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपराह्न संसदीय समितिको बैठक बोलाएका थिए।
प्रतिनिधिसभामा समानुपातिकबाट सांसद भएको व्यक्ति अब प्रदेशमा गएर पनि फेरि समानुपातिकबाटै सांसद बन्न नपाउने र प्रदेशमा भएको व्यक्ति प्रतिनिधिसभामा आएरसमेत बन्न नपाउने गरी मापदण्ड निर्धारण गरिएको हो।
त्यस्तै, २०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरूलाई समेत संघ वा प्रदेश दुवैतर्फ उम्मेदवार नबनाउने मापदण्ड तय भएको छ। यस्तै स्थानीय तहमा उम्मेदवार बनेकालाई प्रदेश र प्रतिनिधि सभामा उम्मेदवार हुनबाट रोक लगाएको छ।
त्यस्तै, उच्च नैतिकता, योग्यता, क्षमता भएको र उमेरको सन्तुलनलाई आधार मानेर पार्टीलाई लोकप्रिय मत थप्न सक्ने व्यक्तिलाई समानुपातिकतर्फ उम्मेदवार बनाउने मापदण्ड बनाइएको छ। संसदीय समिति २५ सदस्यीय हुने व्यवस्था छ। तर, सभापति देउवाले समितिलाई पूर्णता दिन सकेका छैनन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation