काठमाडौं- नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेसका अध्यक्ष ली जान्सु दक्षिण कोरिया उडेका छन्। मंगोलियाबाट विशेष विमान हुँदै ६७ जना प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल आएका उनी बिहीबार बिहान दक्षिण कोरिया उडेका हुन्।
रुस र मंगोलियाको भ्रमण सकेर चिनियाँ सभामुख लि सोमबार चार दिने भ्रमणका लागि नेपाल आएका थिए। चिनियाँ कम्युनिस्ट पार्टीको २० औं जनकंग्रेस सम्मेलनको पूर्वसन्ध्यामा छिमेकी मुलुकको भ्रमणमा उनी निस्किएका हुन्।
अध्यक्ष लीले नेपाल भ्रमणमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री नारायण खड्का, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका थिए।
उक्त भेटवार्तामा चीनले सन् २०१७ मा सम्झौता भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनलाई अघि बढाउनुपर्नेमा जोड गरेको थियो। त्यसैगरी नेपालले भने सीमा नाकामा भएको अवरोध खुला गर्ने विषयलाई प्राथमिकताका साथ उठाएको थियो।
नेपाल र चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नेपाल र चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय व्यापार, लगानी, यातायात तथा व्यापार आबद्धता, चीनमा अध्ययनरत नेपाली विद्यार्थीलाई चीन जान दिने, हवाई उडान र सीमा नाका खुला गर्नेलगायतका विषयमा छलफल भएको छ।'
चिनियाँ पक्षले भने नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धताको प्रशंसा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'चीनले नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धता र नेपाल भूमिलाई चिनियाँ हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धताको प्रशंसा गरेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation