काठमाडौं- अदालतले टुकुचा खोला मिचेर बनाइएका संरचना नहटाउन अल्पकालीन आदेश दिए पनि काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोज्ने अभियान जारी राखेको छ।
आइतबार उच्च अदालत पाटनले टकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरे पनि महानगरले सोमबार पनि उत्खननलाई निरन्तरता दिएको हो।
काठमाडौं नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सोमबार विहान पुतलीसडक-हात्तीसार-कमलादी क्षेत्रमा उत्खनन गरिएको छ। उनले ती क्षेत्रमा संरचना बनेका ठाउँभन्दा बाहिर टुकुचा खोज्न उत्खनन गरिरहेको बताएका छन्।
काठमाडौं महानगरपालिका अनुसार नारायणहिटी दरबार संग्रहालयबाट बाहिर निस्केपछि टुकुचा खोला भूमिगत गरिएको छ। त्यसपछि पुतलीसडकको काठमाडौं प्लाजा छेउमा मात्र टुकुचा देखिन्छ।
महानगरले यसअघि नै टुकुचा भूमिगत भएको सुरुवाती बिन्दु र अन्तिम बिन्दु उत्खनन गरिसकेको छ। बीचको अन्य स्थानमा पनि खोला देखिने गरी उत्खनन गरिरहेका महानगर प्रहरीले जनाएको छ।
टुकुचा खोलालाई कहिलेदेखि भूमिगत गरियो भन्ने यकिन तथ्यांक अहिलेसम्म सरकारले सार्वजनिक गरेको छैन। तर राणाकालीन समयमा इँटाको गुम्बज बनाएर भूमिगत गरिएको इतिहासका जानकारहरुले बताएका छन्।
इतिहास र विभिन्न अध्ययन प्रतिवेदनहरु अनुसार टकुचा काठमाडौं महानगरभित्र उत्पत्ति भएर महानगरमै अन्त्य हुने ५ किलोमिटर लामो खोला हो।
टुकुचामा माथिल्लो तटीय क्षेत्रमा ३ मिटर र तल्लो तटीय क्षेत्रमा ८ मिटरसम्म फराकिलो बहाव क्षेत्र छ। तर, खोला क्षेत्र मिचेर संरचना बनेको भन्दै महानगरपालिकाले त्यसलाई हटाउने जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation