दार्चुला- दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माणको शिलान्यास गरिएको छ। दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको मल्ला छारछुम जोड्ने गरी महाकाली नदीमाथि पुलको शिलान्यास गरिएको हो।
नेपालतर्फ उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले पुलको सोमबार दिउँसो शिलान्यास गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।
भारत सरकारको लगानीमा निर्माण हुने पुल शिलान्यास कार्यक्रममा भारतीय राजदूतावासका प्रतिनिधि, दार्चुलाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयको सहभागिता रहेको थियो। पुल शिलान्यास कार्यक्रमको अवसरमा महाकाली नदीको समेत पूजा गरिएको छ।
नेपालतर्फ पुलको शिलान्यास गर्दै मन्त्री बडूले सुदूरपहाडमा पहिलोपटक नेपाल(भारत जोड्ने मोटर पुल बन्न लागेको बताए। यसअघि कञ्चनपुर, कैलालीमा पुल भएपनि पहाडी जिल्लामा दुई देश जोड्ने पक्की पुल बनेको थिएन। मन्त्री बडूले भने, ‘दार्चुलामा पुल बनेसँगै सुदूरपहाडको समृद्धिको ढोका खुल्छ।’
दार्चुला त्रिदेशीय सीमा जोडिएको जिल्ला पनि भएकोले त्रिदेशीय (नेपाल-भारत-चीन) व्यापारको समेत ढोका खुल्ने उनको भनाइ छ। पुल निर्माण सम्पन्न भइसकेपछि सरकारी र नागरिक स्तरमा दुई देशको सम्बन्ध मजबुत हुनुका साथै दार्चुलाको स्थानीय कृषि उत्पादन, जडिबुटी, धातु र कच्चापदार्थको अन्तर्राष्ट्रिय व्यापारमा समेत सहज हुने उनले बताए।
२०४८ सालदेखि नै पुल बनाउने चाहाना र पहल भएपनि अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा एमओयुमा हस्ताक्षर भएर प्रकृया अगाडि बढेको मन्त्री बडूले बताए। महाकालीमा मोटरपुल निर्माण भएपछि दार्चुला, बैतडी, बझाङ लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका साथै भारत र चीनसम्मको व्यापार दार्चुलाको नाकाबाट हुने मन्त्री बडूको भनाई छ।
यसअघि पटकपटक महाकालीमा नेपाल–भारत जोड्ने पक्की पुल निर्माणका लागि प्रकृया अघि बढेपनि निर्माण कार्य सुरु हुन सकेको थिएन । केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला पुल निर्माणको सर्भे भएर निर्माण कार्यको थालनी नहुदै टेण्डर रद्ध गरिएको थियो।
त्यसपछि पनि पुल निर्माणको विषयमा पटकपटक दुई देशबीच छलफल भएपनि निर्माण कार्य अघि बढ्न सकेको थिएन। पछिल्लो समय गत महिना मात्रै पुल निर्माणको टेन्डर कार्य सम्पन्न भएको छ।
दार्चुलामा महाकाली नदीमाथि भारतसँग जोड्ने सात वटा झोलुंगे पुलहरू सञ्चालनमा रहेका छन्। दुई वटा पुलहरू निर्माणाधिन अवस्थामा रहेका छन् भने थप केही पुलहरू निर्माणका लागि पहल भइरहेको छ। तर मोटरेबल पुल नहुदा कनेक्टिभिटीमा कतिपय समस्याहरु कायमै रहेका छन्।
मोटरेबल पुल नभएको कारणले गर्दाखेरि भारतसँगको कनेक्टिभिटीमा केही कमि महसुस भइरहेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation