काठमाडौं- कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर ५ बाट सत्ता गठबन्धनबाट प्रत्यक्षतर्फ नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवन चुनाव लड्ने चर्चा भएको थियो। नेपाली कांग्रेसले उनको एकल नाम पनि सिफारिस गरेको थियो।
प्रधानमन्त्रीपत्नीसमेत रहेकी आरजुको स्वास्थ्य अवस्थाका कारण धेरै हिँडडुल गर्न नसक्ने र चिकित्कसले पनि उनलाई केही समयका लागि धेरै हिँडडुल नगर्न सुझाएका छन्। चिकित्सकको सुझाव अनुसार प्रत्यक्षतर्फ चुनाव लड्दा धेरै हिँडडुल गर्नुपर्ने भएकोले समानुपातिकतर्फ बसेकी छन्।
२०७४ सालको निर्वाचनमा नेकपा एमालेका नारदमुनि रानासँग आरजु राणा देउवालाई पराजित भएकी थिइन्। पार्टीको आन्तरिक किचलो र असहयोगका कारण आरजुले झिनो मतान्तरको पराजय व्यहोर्नुपर्यो।
यसपटक पार्टीको संगठन पनि सुधार भएको र माहोल पनि राम्रो भएको अवस्थामा गठबन्धनलाई साथमा राखेर एमालेका नारदमुनिसँग बदला लिने तयारीमा आरजुर थिइन्।
तर, उनको स्वास्थ्य र चिकित्सकको सुझावले उनको मैदानमा भिडेर नारदमुनिको बदला लिने योजना अधुरै रह्यो र बाध्य भएर समानुपातिकमा बस्नुपर्यो। यद्पि उनले भने आफू प्रत्यक्ष नै चुनाव लड्ने बताएकी थिइन्।
आरजु समानुपातिकमा बसेपछि अब सत्ता गठबन्धनबाट कैलालीमा को उम्मेदवार बन्छ भन्ने चर्चा चलिरहेको छ। कैलाली-५ कांग्रेसको भागमा पर्ने लगभग पक्कापक्की नै रहेको छ।
जहाँ कांग्रेसबाट बौद्धिक व्यक्तित्व तथा लामो समयदेखि आरजुलाई सहयोग गर्दै आएका प्रकाश देउवाको पनि चर्चा भइरहेको छ। प्रकाश देउवा कैलाली-५ मा जाँदा कांग्रेसलाई जित्न सहज हुने पनि बताइएको छ। देशभर युवाहरुको लहर चलिरहेको समयमा नेकपा एमालेका उम्मेदवार रानाविरुद्ध सशक्तरुपमा उभिनसक्ने आँकलन गरिएको छ।
त्यसैगरी पार्टी पूर्वसभापति नरनारायण शाह मनुको पनि चर्चा भइरहेको छ भने डोटीमा नेकपा एकीकृत समाजवादीका प्रेम आलेलाई छोड्नुपरे प्रदेश सभापति विरबहादुर बलायर आउनसक्ने पनि चर्चा भइरहेको छ। तर, अन्य उम्मेदवार भन्दा फ्रेस र युवा अनुहार भएका कारण प्रकाशलाई चुनाव जित्न सहज हुने स्थानीय नेताहरुको अनुमान छ।
कस्तो छ अंकगणित?
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले प्रदेश पाँच रहेको क्षेत्र धनगढी उपमहानगरपालिकाको १९ वडामध्ये १२ वडा जितेको थियो। एमालेले अहिले ६ वटा वडा जितेको छ।
गएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा कैलाली ५ मा कांग्रेसको मत २२ हजार ७७९ छ। एमाले १७ हजार ४२० मतसहित दोस्रो र माओवादी ८ हजार १७५ मतसहित तेस्रो स्थानमा छ।
यस्तै नेकपा एकीकृत समाजवादीले २ हजार ९, राप्रपाले १ हजार ७९७ र नागरिक उन्मुक्ति पार्टीले ६५९ मत ल्याएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ३०२ मत पाउँदा जनता समाजवादी पार्टी (जसपा)को १५० मत छ।
अघिल्लो पटक प्रतिनिधिसभामा राना विजयी हुँदा ‘ख’ प्रदेशसभामा कांग्रेसका डिल्लीराज भट्ट र ‘क’ मा एमालेका नेपालु चौधरी विजयी भएका थिए। अहिले एमाले विजयी भएको क्षेत्रमा अघिल्लो पटक निर्वाचित चौधरी र राजेश खातीको नाम चर्चामा छ। कांग्रेसबाट जीवन राना, रामसमझ राना, गणेश देउवा, नारायण बराल, र लक्ष्मीनारायण चौधरीको नाम चर्चामा छ।
‘ख’मा डिल्ली पन्त, सुशीला मिश्र, नृप सुनार, निपा चोखाल र केशव मिश्रको नाम चर्चामा छ। अघिल्लो पटक यस क्षेत्रमा पनि कांग्रेस विजयी भएको थियो। डिल्ली पन्त निर्वाचित भएको यस क्षेत्रमा एमालेबाट धर्मराज पाठक, दुर्गा जोशी र जीवन बमको नाम चर्चामा छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation