८ कार्तिक २०८३, शनिबार

शेखर समूह विभाजित : टिकट पाउनेहरु प्रचारमा, नपाउनेहरु आन्दोलित

  • ९ असोज २०७९, आइतबार
Image

काठमाडौं- सुरुदेखि आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षमा उभिएका संस्थापनइतर नेता शेखर कोइराला समूहले ४० प्रतिशत भाग नपाए विद्रोह गर्ने बताउँदै आएको छ। आफूलाई कुनै भाग नचाहिने र भागबण्डाको राजनीति राम्रो नहुने बताउँदै आएका शेखर कोइराला अहिले आफूलाई ४० प्रतिशत भाग चाहिने बताउँदै आएका छन्। 

तर, यसरी भाग नचाहिने बताएर अहिले भाग मागिरहेको शेखर समूह नै एढिक्का छैन। गठबन्धन दलबीच चुनावी तालमेल मिलाउन कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटरको बैठकमा दिनरात जुटिरहेका बेला नेता शेखर कोइराला समूह भने प्रमुख प्रतिपक्षीसँग मिल्‍ने चेतावनी दिइरहेका छन्। कहिले समानुपातिक उम्मेदवारको बन्दसूची बोकेर निर्वाचन आयोग धाउँछन्। 

शेखर समूहले शनिबार संस्थापन समूहविरुद्ध खबरदारी सभा गर्‍यो। समानुपातिक सूचीमा आफ्ना समूहका नेता तथा कार्यकर्तामाथि अन्याय गरिएको र प्रत्यक्षतर्फ उम्मेदवारी चयनमा समेत एकलौटी हुन सक्ने भन्दै शेखर समूहले खबरदारी सभा आयोजना गरेको थियो। 

तर, उक्त खबरदारी सभामा शीर्ष नेताहरु नै अनुपस्थित रहे। पछिल्लो समय देउवासँग मिलेको आरोप लगाएपछि गगन थापाले शेखरसँगको दूरी बढाएका छन्। त्यसैगरी उपसभापतिका उम्मेदवार चन्द्र भण्डारी र डा. मिनेन्द्र रिजाल पनि शेखरसँग सन्तुष्ट छैनन्। 

शेखर आफ्नै प्रतिबद्धतामा अडिग नभएको र ओलीसँग मिल्‍ने चेतावनी दिँदै अपरिपक्‍व राजनीति गर्न नसकेको भन्दै नेताहरु शेखरसँग असन्तुष्ट बनेका हुन्। 

त्यसैगरी पार्टीलाई जिताउनका लागि भूमिका खेल्‍नुपर्ने बेला शेखर समूहले आफ्नै पार्टीविरुद्ध खबरदारी गर्दै भेला बोलाएपछि शेखर समूहभित्रको असन्तुष्टि थप चर्किएको छ। जसका कारण शीर्ष नेताहरु उक्त सभामा कोही पनि उपस्थित भएनन्। नैतिक दबाबमा परेपछि शेखर कोइराला पनि कार्यक्रममा सहभागी भएनन्। 

अन्य टिकट पाउने करिब निश्‍चित भएका नेताहरु आ-आफ्नो जिल्लामा निर्वाचन प्रचारमा होमिएका छन् भने टिकट पाउने कुनै सम्भावना नभएका नेताहरुले भने संघर्ष गर्ने भन्दै आन्दोलित भएका हुन्। उनीहरूले आन्दोलन र निर्वाचन बहिष्कारसम्मका योजना अघि सारेका छन्। 

दोस्रो तहका नेताहरूले भेलामा अनशन, धर्ना र निर्वाचन बहिष्कारसम्मका वैकल्पिक संघर्षका योजना अघि सार्दै नेतृत्वलाई तत्काल सच्चिनका लागि दबाब दिएका छन्।

खबरदारी सभामा आगामी निर्वाचनमा टिकट निश्‍चित भएका र समानुपातिक सूचीमा परेका अधिकांश नेताहरु उपस्थित भएनन्। खबरदारी सभामा उपस्थित नहुनेहरुमा समूहको नेतृत्व गरिरहेका शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री बद्री पाण्डे, उपसभापतिमा पराजित भएका चन्द्र भण्डारी, महामन्त्रीमा पराजित भएका डा. मिनेन्द्र रिजाल, नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीलगायतका नेताहरु छन्। 

त्यसैगरी प्रदेशमा निर्वाचन लड्‍ने र पार्टीले टिकट दिने पक्कापक्की भएका शेखर समूहका प्रदेश सभापतिहरु अमरसिंह पुन र शुक्रराज शर्मा पनि खबरदारी सभामा उपस्थित भएनन्। गण्डकी प्रदेशका सभापति शर्मा प्रदेशतर्फबाट  समानुपातिक बन्दसूचीमा परेका छन्। 

यसरी आफ्नो टिकट फिक्स भएका नेताहरु नै खबरदारी सभामा अनुपस्थित भएपछि उक्त सभा टिकट पाउने सम्भावना नभएका र असन्तुष्ट नेताहरुको भेलामा परिणत भएको हो। 

कार्यक्रममा गुरु घिमिरे, भुपेन्द्रजंग शाही, मनोजमणि आर्चाय, जगदिश नरसिंह केसी, प्रकाश स्‍नेहीलगायतको उपस्थिति रहेको थियो। गुरु घिमिरेको निर्वाचन क्षेत्र मोरङ-४ माओवादीका अमनलाल मोदी चुनाव लड्ने भएका छन्। त्यसैगरी भूपेन्द्रजंग शाहीको निर्वाचन क्षेत्र कालीकोटमा पनि माओवादीले नै टिकट पाउने भएको छ। 

त्यसैगरी जगदिशनरसिंह केसीले पनि प्रतिनिधि सभामा टिकट पाउने सम्भावना छैन। बझाङ गठबन्धनको बाँडफाँट अनुसार नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी चुनाव लड‍्ने भएपछि प्रकाश स्‍नेहीले पनि टिकट नपाउने भएका हुन्। उनी यसअघि समानुपातिकबाट सांसद भइसकेको हुँदा समानुपातिक बन्द सूचीमा पनि अटाएका छैनन्। 

प्रतिक्रिया

सम्बन्धित खवर