सल्यान- सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १७ जना घाइते भएका छन्। शनिबार बिहान कुमाख गाउँपालिका–६ जिमालीनजिकै उक्त जीप दुर्घटनामा परेका हो।
दुर्घटनामा परि ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया एनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी दामोदर केसी जानकारी दिए।
डुमकोटबाट धार्मिक पर्यटकीयस्थल खैराबाङ भगवतीको दर्शन गर्न आउँदै गरेका यात्रु बोकेको रा १ ज ७९८ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी जिल्ला अस्पताल पठाइएको छ।
जिपमा १९ जना यात्रु सवार रहेको र घाइतेहरूको विवरण आउन बाँकी रहेको डीएसपी केसीले जनाए। यसअघि गत मंगलबार राति कपुरकोट गाउँपालिकाको मूलपानीनजिकै जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation