काठमाडौं- निर्वाचन आयोगले सुनसरी क्षेत्र नम्बर ४ मा दुई दिनदेखि रोकिएको मतगणना अघि बढाउन निर्देशन दिएको छ। आयोगले सुनसरीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई एक पत्र पठाउँदै सुनसरी ४ मा रोकिएको मतगणना तत्काल अघि बढाउन भनेको हो।
नेपाली कांग्रेसका उम्मेदवार एवम् सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पूरै मत सुरुदेखि गन्नुपर्ने मागसहित आयोगमा निवेदन दिएका थिए। निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीहरु नेकपा एमालेका उम्मेदवार जगदीश कुसियतसँग मिलेर ६ सय मत गडबडी गरेको आरोप उनले लगाएका थिए।
कार्कीको मागअनुसार गनेर सिलबन्दी गरिसकेको मतपत्र खोल्न नसकिने आयोगले जनाएको छ। तर आयोगले मतगणनास्थलको सीसी टीभी फुटेज हेर्न चाहेमा देखाउने व्यवस्था मिलाउन पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई भनेको छ।
सय मत गडबड गरिएको आरोप कार्कीले लगाएपछि सुनसरी ४ को मतगणना रोकिएको थियो। मतगणनालाई लिएर गणनास्थलमै कार्की र एमाले नेताहरुबीच तनाव भएको थियो। त्यसपछि कार्कीले धाँधली गरिएको भन्दै गरेको पुनःमतगणनासम्बन्धी मागलाई आयोगले अस्वीकार गरिदिएको हो।
आयोगले कार्कीको उक्त मागलाई अस्वीकार गरि जहाँ रोकिएको त्यहीँबाट गणना अघि बढाएर टुंग्याउन भनेको हो। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का सहायक निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले अब सर्वदलीय बैठक बसेर सोमबार राति वा मंगलबार बिहानदेखि बाँकी रहेको मत गन्न थालिने बताएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation