काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।सहमहामन्त्री भिष्मराज आङ्देम्बेको नेतृत्वमा रहेको निर्वाचन समितिले सोमबारसार्वजनिक गरेको कार्यतालिकाअनुसार सोमबार नै मतदाता नामवली सार्वजनिक गरिने छ।
यस्तै, मंगलबार बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारी दर्ता कार्यतालिका छ। बुधबार बिहान ८ देखि १० बजेसम्म संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने कार्यक्रम छ।
कांग्रेसले ४ मंसिरको निर्वाचनबाट प्रतिनिधि सभामा ८९ सिट जितेको छ। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पुन: संसदीय दलको नेतामा दोहोरिने योजनामा छन्। यस्तै, महामन्त्री गगन थापा र नेता शेखर कोइराला पनि संसदीय दलको नेताका आकांक्षी छन्।
संसदीय दलको विधानबमोजिम कांग्रेसमा दलको नेता बन्न एकभन्दा बढीले उम्मेदवारी दिएमा निर्वाचन प्रक्रिया अपनाउनुपर्छ। संसदीय दलको नेता चयन गर्ने चुनावमा प्रतिनिधिसभामा कांग्रेसबाट निर्वाचित ८९ सांसद मतदाता हुनेछन्।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation