काठमाडौं- नयाँ सरकार गठन र शक्ति बाँडफाँडको विषयमा सहमति जुटाउन सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका नेताहरू सहभागी रहेका छन्।
भोलि साँझ ५ बजेसम्म नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई प्रधानमन्त्रीको नाम दिनुपर्ने समय सीमा रहेको बेला सहमति जुटाउनका लागि दलहरू छलफलमा जुटेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा २ बमोजिमको सरकारको प्रधानमन्त्रीमा दाबी गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आह्वान गरेकी छन्।
सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र निर्णायक देखिएको माओवादी केन्द्रले प्रधानमन्त्रीमा दाबी गरेपछि गठबन्धनमा सहमति जुट्न सकेको छैन।
सहमति जुटाउनका लागि शनिबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation