काठमाडौं- नेपाली कांग्रेस एवं प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमसको शुभकामना दिएका छन्। क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इसाई धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका हुन्।
उनले शुभकामना सन्देशमार्फत चाडपर्वलाई आफ्नो संस्कार र संस्कृतिको अभिव्यक्तिका रूपमा उत्साहपूर्वक मनाउँदा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूका बीच आपसी भाइचारा, सौहार्दता र राष्ट्रिय एकताको अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री देउवाले संसारभर नै मानव समुदायले आफ्ना देवता र धर्म प्रवर्तकजस्ता महान् व्यक्तित्वहरूको जन्मदिनलाई व्यापक उत्साह र सद्भावका साथ मनाउने उल्लेख गर्दै डिसेम्बर २५ का दिन इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट अर्थात् प्रभु येशुको जन्मदिनलाई क्रिसमसका रूपमा विविध कार्यक्रमका साथ मनाउने प्रचलन रहेको जनाएका छन्।
उनले यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समृद्ध नेपाल निर्माणका लागि सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामनाकासहित क्रिसमसको शुभकामना व्यक्त गरेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation