९ कार्तिक २०८३, आइतबार

स्ववियु निर्वाचनका लागि नेविसङ्घद्वारा दुई समिति गठन

  • २८ पुष २०७९, बिहिबार
Image

काठमाडौं- नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि दुई समिति गठन गरेको छ।

सङ्घका अध्यक्ष दुजाङ शेर्पाले स्ववियु निर्वाचनमा नेविसङ्घलाई जिताउनका लागि आज घोषणापत्र तयारी समिति र प्रचारप्रसार समिति गठन गरेका हुन्।

अध्यक्ष शेर्पाका अनुसार घोषणापत्र तयारी समितिको संयोजकमा सङ्घका पूर्व केन्द्रीय सदस्य पुजन गन्धर्व (तनहुँ) र प्रचार–प्रसार समितिको संयोजकमा डा सन्तोष उपाध्याय (ललितपुर) रहेका छन्।

दुई समितिलाई नै निर्वाचनलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन आवश्यकतानुसार समन्वय गरी समिति विस्तार तथा उपसमिति गठन गर्ने अधिकारसमेत दिइएको छ।

अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनलाई शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गरी विद्यार्थीको हकहितको रक्षा र सम्मान गर्न नेविसङ्घ तयार रहेको बताए।

उनले समयमै परीक्षाफल प्रकाशित नहुनु र शैक्षिक बेरोजगारको अवस्था सिर्जना हुनुले शैक्षिक क्षेत्रमा देखिएको ढिलासुस्ती र नीतिगत कठिनाइलाई चिर्न स्ववियु निर्वाचन आवश्यक रहेको बताए।

गत पुस २२ गते बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो।

विस २०७३ चैत १५ गते केही आङ्गिक क्याम्पसमा मात्र निर्वाचन भए पनि अन्य क्याम्पसमा विसं २०६५ सालदेखि अहिलेसम्म स्ववियु निर्वाचन हुन सकेको थिएन। 

प्रतिक्रिया

सम्बन्धित खवर