काठमाडौं- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकालाई खेलकुद नगर (स्पोर्टस सिटी) बनाउने प्रक्रिया अघि बढाइएको छ। नगरपालिकाका मेयर उपेन्द्र कार्कीले निर्वाचनअघि नै कागेश्वरी मनोहरालाई स्पोर्टस सिटीको रुपमा विकास गर्ने प्रतिबद्धता गरेका थिए। सोही प्रतिबद्धता अनुसार उनले कामको थालनी गरेका हुन्।
यसअघि नगर प्रमुख मेयरको संयोजकत्वमा नगरपालिकालाई स्पोर्टस् सिटीका लागि काम गर्न ११ सदस्यीय समिति गठन गरिएको थियो। कागेश्वरी मनोहरा खेलकुद नगरी सम्भाव्ता अध्ययन एवं समन्वय समितिको सोमबार बसेको बैठकले चाँडै नै सम्भाव्यता अध्ययनको काम अघि बढाउने निर्णय गरेको छ।

यससँगै खेलकुद पूर्वाधार निर्माणका लागि सार्वजनिक जग्गा पहिचान गर्ने, पूर्वधार निर्माणका लागि सहयोग गर्न दातृ निकायसँग समन्वय र छलफल अघि बढाउने, नेपालमा रहेका दूतावाससँग समन्वय गरेर विदेशमा रहेका खेलकुद हब भएका सहरको अध्ययन गर्ने लगायतका विषयमा पनि सोमबारको बैठकमा छलफल भएको नगरपालिकाका मेयर तथा समिति संयोजक कार्कीले जानकारी दिएका छन्।
उनले थप भने, 'नगरपालिकाले गरेको कामबारे प्रदेश र संघ सरकारसँग पनि समन्वय गर्ने काम भइरहेको छ। यस कामलाई प्रदेश र संघ सरकारले पनि स्वामित्व ग्रहण गर्ने गरी छलफल भइरहेको छ। त्यसो हुँदा भोलिका दिनका कामहरु अघि बढाउन थप सहज हुन्छ।'

© Lok Kalam . Designed and Developed by Goldenmud Creation