काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी-२० लिगमा आफूहरूबाट त्रुटि भएको स्वीकार गरेका छन्। सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्दा त्रुटि भएको स्वीकार गर्दै अध्यक्ष चन्दले आफूहरूको नियत गलत नभएको बताए।
बिहीबार पत्रकार सम्मेलन गरी अध्यक्ष चन्दले सम्झौताअनुसार काम गर्न सेभेन थ्री स्पोर्ट्सलाई दबाब नदिनु कमजोरी भएको बताए। उनले भने, 'श्रम स्वीकृति ढिला भयो। त्यसका कारण एकपछि अर्को विवाद आयो । यसमा क्यानको त्रुटि रह्यो।’
अध्यक्ष चन्दले नेपाली खेलाडीहरूले ८० प्रतिशत पैसा पाएको र बाँकी पारिश्रमिक पनि पाउने बताए। अध्यक्ष चन्दले स्पट फिक्सिङमा क्यानका कुनै पनि पदाधिकारी संलग्न भए कारबाही भोग्न तयार रहेको बताए। टी-२० लिग प्रतियोगितामा स्पट फिक्सिङ भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानले देखाएको छ।
फिक्सिङको आरोपमा राष्ट्रिय टिमका पूर्वखेलाडी मेहबुब आलम र क्रिकेटर आदिल आलम पक्राउ परेका छन्। स्पट फिक्सिङबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation