काठमाडौं- खाना पकाउने (एलपी) ग्यास सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी र उनकी आमालाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ।
ग्यास सिलिण्डर पड्किँदा आगो लाग्दा नेता भण्डारीको शरीरमा २५ देखि ३० प्रतिशत जलन भएको छ। यस्तै, उनकी ८६ वर्षीया आमाको ७० प्रतिशत शरीरमा जलनको असर परेको छ।
चिकित्सकीय भाषामा शरीरको २० प्रतिशतभन्दा बढी भागमा जल हुनुलाई गम्भीर अवस्था मानिन्छ। अहिले नेपाली कांग्रेसका नेताहरुले कीर्तिपुरस्थित वर्न अस्पतालका चिकित्सकसँग भण्डारीलाई थप उपचारका लागि भारत लैजाने विषयमा छलफल गरिरहेका छन्।
बुधबार बेलुकी काठमाडौंको बुद्धनगरस्थित घरमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा नेता भण्डारी र उनकी आमा घाइते भएका थिए। दुवै जनालाई उपचारका लागि तत्कालै कीर्तिपुरस्थित वर्न अस्पताल पुर्याइएको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation