८ कार्तिक २०८३, शनिबार

जनमत पार्टी सरकारबाट बाहिरिँदैन : अध्यक्ष राउत

  • १६ फागुन २०७९, मङ्गलबार
Image

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफूहरू सरकारबाट नबाहिरिने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै राउतले सरकारबाट नबाहिरिने बताएका हुन्।

अन्य पार्टीहरू आफ्नो माग पूरा नभएकाले बाहिरिएको भन्दै राउतले जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको बताए।

‘सरकारबाट बाहिरिने कुनै परिस्थिति नै बनेको छैन जनमत पार्टीको। अरु पार्टीहरू त माग पूरा भएन, कसैलाई राष्ट्रपति भएन,कसैलाई मन्त्रालय भएन भनेर बारिरिएको हो,' राउतले भने, 'जनमत पार्टीको लागि कुनै त्यस्तो कुनै नयाँ परिस्थिति सिर्जना भएको छैन। त्यही भएर जनमत पार्टी सरकारमा यथावत् छ।'

माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकाले सरकार बदलिएको भन्न नमिल्ने उनको तर्क छ। सरकारमा सामेल भएका दलहरू फेरिने भए पनि सरकार नफेरिने उनको भनाइ छ। जनमत पार्टी सरकारमा यथावत् रहेको उनले बताए।

'योभन्दा पहिला पनि माओवादीकै नेतृत्वमा सरकार थियो। अहिले पनि माओवादीकै नेतृत्वमा सरकार छ। सरकार कहाँ बदलिएको छ त ?,' राउतले भने, 'सरकारमा सामेल भएका दलहरू फेरिएका हुन्। सरकार फेरिएको छैन। सरकार बदलिएको होइन। हामी त्यही भएर सरकारमा यथावत् छौँ।’

राष्ट्रपतिमा आफूहरूले स्वच्छ छवि भएको र दल विशेषको भूमिका नखेल्ने व्यक्ति खोजेको उल्लेख गर्दै राउतले सोहीबमोजिमको पात्रको रूपमा रामचन्द्र पौडेललाई समर्थन गरेको बताए।

'हाम्रो धारणा के छ भने राष्ट्रपतिमा स्वच्छ व्यक्ति हुनुपर्छ। कुनै राजनीतिक दल विशेषको भूमिका नझल्कने खालको त्यस्तो पात्र नबन्ने खालको व्यक्ति हुनुपर्छ र नागरिकता विधेयकलगायतका कुरालाई पारित गरेर विधेयक त्यहाँ पठाइन्छ, त्यसलाई पारित गर्न सक्नुपर्छ । त्यस्तो खालको राष्ट्रपति हुनुपर्छ भन्ने हाम्रो धारणा छ,' राउतले भने।

आफ्नो पार्टी राष्ट्रपति र सभामुख एउटै पार्टीलाई दिनु नहुने पक्षमा रहेकाले पनि पौडेललाई समर्थन गरेको उनको भनाइ छ। राष्ट्रपति र सभामुख एउटै दलको भए निरंकुशता जन्मिने सक्ने उनको तर्क छ।

'सभामुख र राष्ट्रपति सकेसम्म एउटै दलको नहोस् भन्ने हामी चाहन्छौँ। किनभने त्यसले देशमा निरंकुशता जन्माउने प्रशस्त आधारहरू छन्। त्यसैले हामीले नयाँ गठबन्धनले प्रस्ताव गरेको राष्ट्रपतिलाई समर्थन गर्ने पक्षमा हामी छौँ।’

आगामी राष्ट्रपतिले संसदबाट पारित भएका विधेयकहरूलाई उदारतापूर्वक प्रमाणीकरण गर्नुपर्ने उनले बताए। ‘विगतमा भोग्यौँ, दुवै सदनबाट पारित भइसकेको विधेयकलाई पनि राष्ट्रपतिज्यूले फिर्ता गरिदिनुभयो। अड्काइदिनुभएको थियो।’

प्रतिक्रिया

सम्बन्धित खवर