काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पुर्याउनुपर्नेमा जोड दिएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा 'बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ माथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन्।
प्रमुख सचेतक लेखकले संक्रमणकालीन न्याय सरकार वा कुनै राजनीतिक पार्टीको मात्रै विषय नभई सिंगो राष्ट्रकै साझा विषय भएकाले हुनाले त्यसलाई टुंगोमा पुर्याउन पनि सबै राजनीतिक दलहरूलाई एकतावद्ध हुन आग्रहसमेत गरे।
उनले पीडितलाई न्याय दिन, परिपुरणको व्यवस्था गर्न र मुलुकमा फेरि द्वन्द्व आउन नदिने गरी सरकारले सो विधेयक ल्याएको जिकिर गर्दै त्यसलाई सहमति, सहकार्य र संवादको माध्यामबाट राजनीतिक दलहरूले पारित गर्न ढिलाई गर्न नहुने पनि बताए।
प्रमुख सचेतक लेखकले १० वर्षे सशष्त्र संघर्षलाई शान्तिमा रुपान्तरण गरेका राजनीतिक दलहरूले संक्रमणकालीन न्यायको कामलाई पनि छिट्टै टुंगोमा पुर्याउने विश्वास समेत व्यक्त गरे।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation