९ कार्तिक २०८३, आइतबार

मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने देउवा, प्रचण्ड र नेपालबीच सहमति

  • १३ चैत २०७९, सोमबार
Image

काठमाडौं- मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन्।

सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्ष नेपालसँग मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गरेका हुन्। तीन नेताबीच मन्त्रिपरिषद् विस्तारका लागि मंगलबार अपराह्न ४ बजे सत्ता गठबन्धन दलको बैठक बोलाउने समझदारी भएको छ।

सत्ता गठबन्धनको बैठक बसेर भोलि मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति पनि शीर्ष तीन नेताबीच भएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। ६ चैतमा संसदमा दोस्रोपटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्।

सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय बाँडफाँटका विषयमा सहमति जुट्न सकेको छैन। भोलि (मंगलबार) बस्ने सत्ता गठबन्धनको बैठकपछि मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ। 

प्रधानमन्त्री प्रचण्ड गृह मन्त्रालय माओवादी केन्द्रका लागि नै छुट्याएर बाँकी मन्त्रालयमा भागवण्डा गर्ने तयारीमा छन्। सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले आठभन्दा बढी मन्त्रालयमा दाबी गरिरहेको छ भने एकीकृत समाजवादी र जसपाले तीन-तीन मन्त्रालय मागेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउने प्रधानमन्त्री प्रचण्डको चाहना छ। तर, रास्वपाले गृहसहित तीन मन्त्रालय पाए मात्रै सरकारमा सहभागी हुने बताएको छ। तर, प्रधानमन्त्री प्रचण्ड गृह मन्त्रालय अन्य दललाई दिन तयार छैनन्। मन्त्रालय बाँडफाँटमा सहमति जुटे भोलि नै मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डको तयारी छ। 


प्रतिक्रिया

सम्बन्धित खवर