काठमाडौं- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य आरजु राणा देउवा भागेको भन्ने भ्रमात्मक हल्ला फैलाइएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान हुँदै गर्दा कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु भारतको पटना, दिल्ली हुँदै सिंगापुर भागेको दावी गरिएको एउटा भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ।
सभापति देउवा र उनकी पत्नी आरजुलाई बद्नाम गराउनका लागि उक्त भिडियो प्रसारण गरेर सामाजिक सञ्जालमा फैलाइएको देखिन्छ। यद्पि आरजु भने हाल काठमाडौंको धुम्बाराहीस्थित निवासमै रहेकी छन्। उनी बिहीबार हेटौडाका दुई कार्यक्रममा सहभागी भएको र बिहीबार नै काठमाडौं फर्किसकेकी छन्।
आरजु सिमराबाट बुद्ध एयरको उडानबाट काठमाडौं फर्कने कार्यक्रम भए पनि प्लेन छुटेका कारण गाडीबाट बिहीबार नै काठमाडौं आएकी हुन्।
यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री पत्नी मञ्जु खाँण र आरजुलाई पैसा बुझाएको भन्ने अडियो बाहिरिएको थियो। उक्त अडियो बाहिरिएपछि आरजुले संसद्मै उभिएर आफूले कुनै गल्ती नगरेको र नडराउने बताएकी थिइन्। उनले आफूसहित सबै सांसदहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेकी थिइन्। उनले भनेकी थिइन्, 'हामी जति सांसद छौँ, जहिलेदेखि बनेका छौँ, सबैको सम्पत्ति विवरण प्रकाशित होस्। हाम्रो वेबसाइटमा राखियोस्। जनताले देखोस्।'
उनले भ्रष्टाचारको विषयमा को कति गम्भीर छ भन्ने मुख्य विषय रहेको भन्दै केवल ठुला भाषण गरेर मात्र नहुने र सम्पत्ति विवरण नै सार्वजनिक गर्न माग गरेकी थिइन्।
आरजुले आफ्नो नाम जोडेर सार्वजनिक अडियोको वास्तविकताबारे छानबिन गर्न माग गर्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। उनले फेक अडियो सार्वजनिक भएको भन्दै दोषीलाई कारबाही गर्न माग समेत गरेकी थिइन्।
बुधबार साइबार ब्युरो भोटाहिटीमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त फेक अडियो बदनियत पूर्ण ढङ्गबाट बदनाम गराउने उद्देश्यले नियोजित रूपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेकी थिइन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation