८ कार्तिक २०८३, शनिबार

चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोहका तीन जना पक्राउ

  • ३१ वैशाख २०८०, आइतबार
Image

काठमाडौं- उदयपुरमा चिट्ठा परेको भन्दै २२ लाख रुपैयाँ ठगी गर्ने गिरोहका तीन जना पक्राउ परेका छन्। चिट्ठा पर्‍यो भन्दै रकम असुल गर्ने गिरोहका तीन अभियुक्तलाई पक्राउ गरेर ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान सुरु गरेको छ।

उनीहरूले दुई महिनाभित्र २२ लाखभन्दा बढी रकम ठगी गरेका थिए। चिट्ठा परेको नाममा सम्बन्धित व्यक्तिले करस्वरुप तोकिएकमोजिमको रकम बुझाउनुपर्ने भन्दै पहिला नै रकम असुल गरेर झुक्याउने गरेको गुनासो बढेपछि पटकपटकको खोजी र अनुसन्धानपछि ती अभियुक्तलाई पक्राउ गरिएको थियो।

पक्राउ पर्नेमा जिल्लाको कटारी नगरपालिका–३ निवासी उज्वल थापामगर, चितवन जिल्ला रत्ननगर नगरपालिका–२ का सुशील श्रेष्ठ र काठमाडौँ महानगरपालिका १० बुद्धनगरमा लुकछिपी बसेका कटारी–३ का विशाल थापामगर रहेको प्रहरी  प्रमुख तथा प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताए।

उनीहरू बिरुद्ध ठगी सम्बन्धित मुद्दासमेत दर्ता गरिएको छ । ती अभियुक्तले खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका–२ स्थायी घर भई हाल उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडा बस्ने वर्ष २९ का उदय राईलाई २५ लाख भारतीय रुपैयाँ चिट्ठा परेको भन्दै कीर्ते कागजात देखाएर पहिला कर तिर्नुपर्छ खातामा पैसा बुझाउनु भन्दै तीस हजार रुपैयाँ ठगी गरेका थिए।

यसैगरी अन्य व्यक्तिलाई पनि  चिट्ठा परेको भन्दै पटकपटक गरेर उनीहरूले २२ लाख २० हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।

ठगी गर्ने गिरोहले भारतीय नागरिक प्रकाश वर्माको नाममा रहेको एक  कम्पनीबाट चिट्ठा परेको भनेर जिल्लाका सोझासाझा जनतालाई ह्वाटस् एप्समार्फत उक्त कम्पनीको छापसमेतको कागजात देखाएर सुरुमै २० हजार रुपैयाँदेखि एक लाखसम्म कर लिएर आफ्ना खातमा रकम संकलन गर्न लगाउने गरेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूले गाउँगाउँमा गएर पहिला आफ्ना मान्छेमार्फत् पैसा भएका सोझासाझासम्म पुगेर नाम टिपेर पहिलो उनीहरुको आर्थिक अवस्था अध्ययन गरी रकम ठगी गर्न सकिनेलाई मात्र उनीहरुका नाममा फेक चिट्ठाका कागजात बनाएर चिट्ठा परेको कीर्ते कागजात देखाउने गरेका थिए।

'चिट्ठाको नाममा ठगी गर्ने आपराधिक समूमध्येको पक्राउ गरिएका तीन जना त समान्य बाहिर भूमिका निर्वाह गर्ने मात्र हुन्,  बास्तविक नाइकेको खोजी भइरहेको छ। प्रहरीले चाँडै उनीहरूसम्म पुग्नेगरी अनुसन्धान सुरु गरेको छ र अब चाँडै मुख्य नाइके पक्राउ पर्नेछन्। पक्राउ पर्नेहरूका आधारमा नै मुख्य नाइकेको पनि तीव्र बनाइएको छ,' प्रहरी प्रमुख फुयाँलले भने।

पक्राउ गरिएकाहरू विरुद्ध मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २१ अन्तर्गत एक्सटर्शनको कसुरमा मुद्दा  दर्ता गरी कारबाही अघि बढाइएको हो।


प्रतिक्रिया

सम्बन्धित खवर