काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले विद्यार्थीको ट्रान्सक्रिप्ट लगायतका विवरण अब प्रदेश कार्यालयबाट वितरण गर्ने भएको छ।
परिषद्को परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले साउनदेखि सातवटै प्रदेशमा रहेका प्रदेश कार्यालयबाट ट्रान्सक्रिप्ट, लब्धाङ्क पत्र र माइग्रेसन वितरण गर्ने जानकारी दिए।अहिले परिषद्ले भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयबाट ट्रान्सक्रिप्ट, लब्धाङक पत्र र माइग्रेसन उपलब्ध हुँदै आएको छ।
सातवटै प्रदेशबाट ट्रान्सक्रिप्ट लगायतका विवरण उपलब्ध गराउने भएपछि विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने झन्झट नहुने भएको छ। उनका अनुसार सातवटै प्रदेश कार्यालयबाट ट्रान्सक्रिप्ट, लब्धाङ्क पत्र र माइग्रेसन वितरणका लागि अहिले सफ्टवेयर बनाइँदै छ।
परिषद्ले कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीबाट वितरण गर्नेछ।
ट्रान्सक्रिप्ट, लब्धाङक पत्र र माइग्रेसनका लागि विद्यार्थीले अनलाइन फाराम भर्ने र फाराम भरिसकेपछि विद्यार्थीको मोबाइलमा जानकारी आउनेछ। सोही जानकारी आधारमा विद्यार्थीले आफ्नो कागजात लिन सकिने उनले बताए।
यसैगरी, परिषद्ले परीक्षा फाराम पनि अनलाइन गर्ने भएको छ। परिषद्ले प्री डिप्लोमा तथा डिप्लोमा कक्षा सञ्चालन गरिरहेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation