काठमाडौं- भोलि (बुधबार) संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने भएको छ। अपराह्न ४ बजे प्रतिनिधि सभाको बैठक कक्षमा संयुक्त बैठक बस्न लागेको हो।
संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन टेबल गर्ने कार्यसूची रहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन्।
गत जेठ १ गते प्रतिनिधि सभाले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली संशोधन मस्यौदा समिति गठन गरेको थियो। संयुक्त समितिहरु संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति गरी दुई समिति सञ्चालनका लागि पनि छुट्टै नियमावली आवश्यक पर्ने हुन्छ।
अघिल्लो संसद्को कार्यकालको नियमावली संशोधन गरेर पारित गरेपछि संयुक्त समिति गठन गर्ने योजना अनुसार सो नियमावलीको मस्यौदा बनाउनका लागि १६ सदस्यीय मस्यौदा समिति बनाइएको छ। सो मस्यौदा पारित भएपछि संयुक्त समिति गठन प्रक्रिया अघि बढ्नेछ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation