काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिकामा रहेको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम परिवर्तन गरी व्यक्तिको नामबाट राख्ने निर्णयप्रति नगर प्रमुख उपेन्द्र कार्कीले आपत्ति जनाएका छन्।
नगर प्रमुख कार्कीले एक विज्ञप्ति जारी गर्दै जयकुमार नाथ शाह मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदान राख्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उक्त निर्णयप्रति सरोकारवालाको ध्यानाकर्षणपछि सहमतिमै मुलपानी अन्तराष्ट्रिय क्रिकेटको नामकरण गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'नेपाल क्रिकेट संघको मिति २०८० असार १७ को प्रतिवद्धता सम्बन्धमामा पत्रानुसार मैदानको नामकरण सम्बन्धमा संघले कागेश्वरी मनोहरा नगरपालिका तथा नगर प्रमुखको अनुरोधमा स्थानीय राजनीतिक दलका नेतागण, बुद्धिजीवी, भद्र भलादमी, स्थनीय युवा, स्थानीय क्रिकेट प्रेमीहरु तथा अन्य स्थनीय सरोकारवालाहरुसंग आवश्यक छलफल गरी सहमतिमै मुलपानी अन्तराष्ट्रिय क्रिकेटको नामकरण गरिने प्रतिवद्धता व्यक्त गरेको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु।'
यसअघि कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत वडा नं. ६ मा रहेको माथिल्लो क्रिकेट रंगशालाको नेपाल क्रिकेट संघको मिति २०८० वैशाख १५ गतेको केन्द्रीय कार्य समितिको बैठकले नामकरण गरिएको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation