काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णयले पार्टीभित्र लफडा सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय किमिटी बैठक ‘लाइभ’ गर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई पदाधिकारी बैठकले अनुमोदनसमेत गरेको थियो।
यद्पि लामो समयपछि बस्न लागेको केन्द्रीय समिति बैठक लाइभ गर्न नहुने भन्दै नेताहरु आक्रोशित बनेका हुन्। पूर्व विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका सचिव गणेश साहले लाइभ गर्ने विषयमा धेरै नेताको असन्तुष्टि रहेको जानकारी गराए।
उनले बढ्दो प्रविधिसँगै यसको उपयोग गर्नु ठिक भए पनि पार्टीको आन्तरिक विषय बाहिर सार्वजनिक गर्नु ठिक नभएको बताए। भविष्यमा पार्ने प्रभावबारे गम्भीर छलफल नभइकन महत्त्वपूर्ण बैठक लाइभ गर्न नहुने पक्षमा माओवादी नेताहरु रहेका छन्।
यसैगरी लाइभ गर्ने विषयमा पोलिटब्यूरो सदस्य रामप्रसाद सापकोटा दीपशिखाले पनि असन्तुष्टि जनाएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस’ राख्दै उनले पार्टी बैठक घर, परिवार र जीवन भएकाले परिवारका अन्तरङ्ग छलफल लाइभ गर्न नहुने उल्लेख गरेका छन् । ढुक्कसँग बोल्न र आनन्दसँग सुन्न पाउनुपर्ने उनको धारणा छ ।
केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्ने विषयमा पोलिटब्यूरो सदस्य कमला रोक्काले पनि असन्तुष्टि जनाएकी छन्। कम्युस्नष्ट पार्टीको बैठक गोप्य हुनुपर्ने भन्दै यसविषयमा केन्द्रीय कमिटी बैठकमा नेतृत्वको ध्यानाकर्षण गराउने बताइन् ।
उनले कांग्रेसको सिको माओवादीले गर्न नहुने जनाउँदै यदि लाइभ नै गर्ने भए खुलामञ्चमा सभा गरे हुने भन्दै व्यंग्य गरेकी छन्। ‘कम्युनिस्ट पार्टीभित्र केन्द्रीय समिति बैठकलाई निकै समवेदनशील र गोप्य मानिन्छ। देखाउने नाममा नाङ्गिन त भएन नि ! माओवादी पनि कांग्रेसकै बाटोमा जान खोजेको हो कि ? यस विषयमा बैठकमा कुरा उठाउँछौँ । यदि लाइभ नै गर्ने भए खुला मञ्चमा सभा गरे हुन्छ’, उनले असन्तुष्टि पोखिन्।
यस विषयमा पोलिटब्यूरो सदस्य धर्मशीला चापागाइँले लाइभ गर्न नदिन आफूहरूले नेतृत्वलाई दबाब दिने बताइन्। पार्टीको आन्तरिक छलफल बाहिर सार्वजनिक गर्नु उपयुक्त नभएको उनको बुझाइ छ। यसअघि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक लाइभ गरिएपछि माओवादीले पनि बैठक लाइभ गर्ने निर्णय गरेको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation