काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई दिने घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म नपाएको बताएका छन्।
एसियाड गेममा भाग लिन चीन उड्नुअघि आइतबार काठमाडौंमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताएका हुन्।
‘सरकारले घोषणा गरेको रकम कति पटक भनिसकेका छौँ । अहिलेसम्म आएको छैन। आउँछ भनेर आशावादी छौँ । हेरौँ के हुन्छ,’ उनले भने । उनले एसियाड गेमका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको बताए।
कप्तान पौडेलले एसियन गेम्सलाई लिएर सबै जना एक्साइटेड रहेको बताउँदै आफूहरूको लक्ष्य मेडल जित्ने रहेको बताए। उनले कमजोर वा बलियो दुवै टिमलाई कमजोर नठानी खेल्ने प्रतिबद्धता जनाए।
उनले एसियाड गेमले टी-२० विश्वकप छनोटका लागि पनि सहयोगी भूमिका खेल्ने बताए। टी-२० गेममा जुन टिमले डेथ ओभरमा बेटर बलिङ गर्छ त्यही टिमले खेल जित्ने भएकाले त्यसका लागि मेहनत गरिरहेको बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation