काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले समाजवादी जागरण अभियान २०८० गर्ने भएको छ। असोज १४ देखि २९ गतेसम्म सम्म जागरण अभियान सञ्चालन हुने भएको छ।
एकीकृत समाजवादीले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै समाजवादी जागरण अभियानमार्फत पूर्व–पश्चिम यात्रा गर्न लागिएको जानकारी गराएको हो। असोज १४ गते काँकडभिट्टाको मेची नदी किनाराबाट सुरु हुने अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने जनाइएको छ । यस अवधिमा करिब एक हजार किलोमिटर यात्रा हुने बताइएको छ।
यस बीचमा विभिन्न जिल्लाहरूमा पार्टीका विभिन्न तहका कमिटीहरूसँग छलफल गर्दै र जनताको कुरा सुन्दै जाने पार्टीका महासचिव घनश्याम भुसालले बताए।
उनले ‘रोजगारी, समृद्धि र सुशासन’ को नाराका साथ हुन लागेको समाजवादी जागरण अभियानमा समृद्धि र समाजवादको लागि हुनुपर्ने ठोस कार्यक्रमका बारेमा जनतालाई बताउने जानकारी दिए। त्यस्तै, आगामी माघमा पार्टीको महाधिवेशन हुने भन्दै त्यसअघि जनताको सुझाव संकलनका रूपमा पनि यो अभियान रहेको उनले उल्लेख गरे।
अभियानको क्रममा बेरोजगारी समस्याको समाधान, कृषिको विकास, उद्योग क्षेत्रको विकास र पूर्वाधार निर्माणको सम्बन्धमा पनि पार्टीको योजना सुनाउँदै जनताको सल्लाह, सुझाव पनि सुन्ने अध्यक्ष माधवकुमार नेपालले बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation