काठमाडौं - विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ। उमेर नपुग्दै विवाह गर्नेको संख्या बढेपछि बालविवाह हुन नदिन जुम्लाको तिला गाउँपालिका– ६ ले विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेको हो। परिपत्र गरेपछि सो वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्यलाई कडाइका साथ लागू गरिएको वडाध्यक्ष जंगबहादुर रोकायाले जानकारी दिए। कम उमेरमा विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न सिफारिस अनिवार्य गरेको हो।विवाह गर्दा वडाको सिफारिस अनिवार्य लागू गरिएको छ, वैशाखदेखि विवाह गर्दा नागरिकले अनिवार्य वडाबाट सिफारिस लिनुपर्ने नियम बनाएको अध्यक्ष रोकायाले बताए ।अहिले वडाको सिफारिस अनिवार्य गरेपछि वैशाखयता पाँचजना उमेर पुगेका विवाह गर्ने जोडीले सिफारिस लिएका छन्। विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीहरुले अनिवार्य जन्मदर्तासहित वडामा निवेदन पेस गर्नुपर्ने छ।उमेर नपुग्दै विवाह गर्ने सुडीगाउँमा दुई र घोडेगाउँमा एक बालविवाह गर्नेलाई रोक्ने काम भैसकेको अध्यक्ष रोकायाले बताए ।वडाको सिफारिस अनिवार्य गरे पनि तिलाका अरू वडाले प्रभावकारी रूपमा निर्णयलाई कार्यान्वयन गर्न नसकेको तिला– १ का स्थानीय उपराज रावतले बताए।कानुनी रूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ। तिला– ६ मा पर्ने घोडे गाउँमा ६८, रिपी गाउँमा ३५ र सुडी गाउँमा एक सय १० गरी जम्मा दुई सय १३ घरधुरी रहेका छन्।वडाध्यक्षहरूले गाउँमा हुने विवाहलाई उमेर पुगे–नपुगेको जानकारी लिनका लागि प्रभावकारी भूमिका खेल्नुपर्ने गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाको भनाइ छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation