८ कार्तिक २०८३, शनिबार

प्रेम दिवसमा तीन लाख ५० हजार स्टिम गुलाफको माग : मागअनुसार स्वदेशमा उत्पादन नहुदा भारतबाट ल्याइयो

  • २४ माघ २०८०, बुधबार
Image

काठमाडौँ- आजबाट प्रणय दिवस सप्ताह सुरु भएको छ । प्रेमको प्रतीक मानिने रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एकअर्कालाई दिएर मनाउने गर्छन। फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ ।

 

मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भारतबाट  गुलाफ ल्याइएको उहाँको भनाइ छ ।  यस वर्ष रातो गुलाफ प्रतिस्टिम रु ८० देखि एक सयसम्म पर्ने उनले जानकारी दिए ।

 

एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको जानकारी दिए।

 

पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा पनि यस दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । प्रणय दिवस फेब्रुअरी १४ तारिखमा पर्दछ । तर उक्त दिनभन्दा एक हप्ताअघिदेखि नै यो दिवस मनाउने प्रचलन छ।

 

अध्यक्ष तामाङका कूल मागको ६० प्रतिशत काठमाडौँ उपत्यकामा र बाँकी ४० प्रतिशत गुलाफ देशका अन्य सहरमा खपत हुने बताए।

प्रणय दिवसमा मात्रै रातो गुलाफको कारोबार रु तीन करोड ५० लाखको हुने उनको भनाइरहेको छ । उनले वार्षिक रु तीन अर्ब सात करोडको फूलको कारोबार हुने गरेको बताए ।  

 

रातो गुलाफ विशेष गरी काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकमा व्यावसायिकरुपमा लगाउने गरिएको छ।

 

फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग छ सय ७५ विभिन्न किसिमका पुष्पखेती तथा नर्सरी विस्तार भएका छन् । पुष्प व्यवसायमार्फत ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् ।

 

 

नेपालमा गुलाफ फूलको व्यावसायिकरूपमा  चार सय ५० प्रजातिका गुलाफ उत्पादन हुनेगरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर